सुर्खेत- गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वबिना मुलुकमा विकास असम्भव भएको बताएका छन् । गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री थापाले सरकारले आपराधिक नियन्त्रणलाई प्राथमिकता राखेको बताए ।
नेपाललाई आपराधिक अखडा बनाउँदै आएका चिनियाँ नागरिकलाई भर्खरै सरकारले पक्राउ गरेर देश निकाला गरेको जनाउँदै उनले भने, “हामीले सीमापारिका अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेका छौँ । सांस्कृतिक परिवर्तनस्वरुप सरकारले छाउपडी प्रथा उन्मूलन अभियान सञ्चालनन गरेको छ । यसबाट पनि समाजमा सकारात्मक प्रभाव पर्दै गएको छ ।”
पछिल्लो समयमा निर्यात बढेको बताएका गृहमन्त्री थापाले सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको र विकास निर्माणका काम पनि निर्वाध अघि बढाएको जनाए । सरकारले गरेको लगानी सम्मेलन र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण नेपालका लागि लाभदायक भएको उनले बताए ।
त्यसैगरी, मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने उनको भनाइ थियो । एमसिसी सदनमा प्रस्तुत भएपछि त्यसमा भएका गलत प्रावधान परिमार्जन गरेर मात्र पारित हुने उनले जिकिर गरे ।
एमसिसी सरकारले सदनबाटै पारित गर्नुपर्ने किन बाध्यता भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अमेरिकी सिनेटले पारित गर्ने भएकोले नेपालको सदनबाट पारित गर्नुपर्ने भएको जनाए । नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित नहुने गरी यो सदनबाट पारित हुने उनको भनाइ थियो ।
विप्लव समूहलाई मूल प्रवाहमा ल्याउने काम जारी नै रहेको बताउँदै उनले सदनबाट प्रहरी विधेयक पारित भइसकेको र अब राष्ट्रपतिबाट
प्रमाणीकरण हुनमात्र बाँकी रहेको जनाए ।
भारतले सार्वजनिक गरेको नयाँ नक्साका कारण उब्जिएको विवाद र त्यसबाट दक्षिणसँग बिग्रेको सम्बन्ध सुधार गर्न कूटनीतिक प्रयास भइरहेको उनले बताए ।