चितवन- रोटरी क्लब अफ रत्ननगरले आज आयोजना गरेको राष्ट्रिय मिनी म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपालचन्द्र पार्कीले हात पारेका छन् ।

प्रतियोगितामा उनले निर्धारित १५ दशमलब चार किलोमिटर दूरी ४२ मिनेट ३५ सेकेन्डमा पार गरेका थिए । यस्तै दोस्रो स्थानमा भरतीय सेनामा कार्यरत अनिष थापामगर र तेस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी रहेका छन् । उनीहरूले क्रमशः ४२ मिनेट ४१ सेकेन्ड र ४४ मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गरे ।
नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रियस्तरको रोटरी मिनी म्याराथन प्रतियोगिता गरिएको हो । क्लबका अध्यक्ष बिपिन पोख्रेलका अनुसार राप्ती नगरपालिकाको भण्डारादेखि सुरु भएको म्याराथोन रत्ननगरको स्टार व्यङ्क्युट होटलमा आएर सम्पन्न भएको थियो ।

प्रतियोगितामा विभागीय धावक नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा चेपाङ धावक र विदेशीसहित ३५२ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार नगदसहित चाँदीको मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, प्रतियोगितामा दश नम्बरसम्म आउने धावकलाई रु एक हजार नगदले सम्मान गरिएको छ । त्यसैगरी प्रतियोगिता पूरा गर्ने ४४ महिला धावकलाई नगद रु पाँच हजारले सम्मान गरिएको क्लबका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिए ।

प्रतियोगिताको रोटरी ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी र मिस नेपाल अर्थ रिया बस्नेतले संयुक्तरूपमा उद्घाटन गरेका थिए । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा गरिएको यस कार्यक्रमले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा भ्रमण वर्षको सन्देश प्रवाह गरेको क्लबका अध्यक्ष पोख्रेलले बताए । क्लबका सदस्य र दाताको सहयोगमा कार्यक्रम गरिएको हो ।

तपाईको प्रतिक्रिया