चितवन- भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालद्वारा आयोजित श्रीमद्भागवत महापुराण तथा धनधान्याचल ज्ञानमहायज्ञको शनिबार पूर्वअर्थमन्त्री तथा सांसद् सुरेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।
भरतपुर ६ इन्द्रपुरीमा रहेको प्रतिष्ठानको कुल मन्दिरमा सुरु भएको महायज्ञको उद्घाटन गर्दै पाण्डेले राजनीति, धर्मनीति जसरी व्याख्या गरे पनि यिनीहरुको उद्देश्य समाजमा शान्ति स्थापना गर्नु नै रहेको बताएका छन् ।
भाइचाराको सम्बन्धलाई सुमधुर बनाउनका लागि भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालद्वारा महायज्ञ लगाइनु राम्रो भएको पाण्डेको भनाइ छ । समाजलाई अग्रगामी बाटोतर्फ लैजान र समृद्ध नेपाल बनाउन भारद्वाज गोत्रीय पोखरेलहरुले अनुकरणीय कार्य गरेको पाण्डेको भनाइ छ ।
सो महायज्ञको उद्घाटन उद्घाटन कार्यक्रममा महायज्ञका प्रमुख वाचन प्रविण दीनबन्धु पोखरेलले आफूभित्र भएको उर्जा उजागर गर्ने काम भागवतले गर्ने बताए । कार्यक्रममा भारद्वाज ऋषिको बारेमा प्राडा गुरुप्रसाद सुवेदी, प्राडा गोविन्द पोखरेललगायतले प्रकाश पारेका थिए ।

भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानलाई भवन निर्माणका लागि भूमि उपलब्ध गराउने स्वार्गीय चूडामणि पोखरेलको परिवारलाई सम्मानसमेत गरिएको थियो । महायज्ञ उद्घाटन पूर्व महायज्ञ स्थलबाट कलश यात्रा सुरु भएर चोकबजार, तुलसीचोक हुँदै महायज्ञ स्थलमा आएर सम्पन्न भएको थियो ।

कलशयात्रामा पन्चकन्या, विभिन्न महिला समूह, टोलबिकास संस्था, भजन मण्डली, पञ्चेबाजा, शहीद स्मृति माध्यमिक विद्यालयका स्काउटका विद्यार्थीहरु, समाजजसेवी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । शनिबारदेखि शुरुभएको महायज्ञ माघ १८ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञबाट तीन करोड रुपैयाँ आर्थिक संकलन हुने महायज्ञ आर्थिक व्यवस्थापन समितिका संयोजक भीमप्रसाद पोखरेलले बताए ।

देवघाटमा प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माणसहित भारद्वाज ऋषिको आश्रम र धार्मिक पुस्तकालय निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो । यसैगरी एम्बुलेन्स सञ्चालन, वंशावली निर्माण, टेलिफोन डायरी प्रकाशन र विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षय कोष स्थापना गरिने पनि संयोजक पोखरेलले जानकारी दिए ।

कथा वाचन प्रविण दीनबन्धु पोखरेलबाट वाचन हुने महायज्ञमा तुलादान, भूमिदान, ब्रतबन्ध, विवाह, चौरासी पूजा र ग्रहशान्तिसमेत गर्न सकिने उपाध्यक्ष शान्तप्रसाद पोखरेलले जानकारी दिए । महायज्ञको उपवाचकको रुपमा आचार्य दुर्गाप्रसाद पोखरेल रहेका छन् ।

तपाईको प्रतिक्रिया