
काठमाडौँ- नेपालमा पनि कोरोना जिवाणु [भाइरस] भित्रिन सक्ने जनाउँदै स्वास्थ्य क्षेत्रका विज्ञले सचेत हुन आग्रह गरेका छन् । शनिबार रिपोटर्स क्लबले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा भएकाले सतर्क हुन सबैलाई अपिल गरेका छन् ।
चीनबाट नेपाल फर्किएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण हुँदा सो भाइरसको सङ्क्रमण भेटिएको जनाइएको छ ।
भाइरस सङ्क्रमित बिरामी आउनसक्ने स्थानमा तयारी र सतर्कता अपनाइएको छ । त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शङ्कास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ । उनले भने, “कोरोना भाइरस अध्ययनको विषय बनेको छ, तर धेरै भयावह स्थिति छैन ।”
प्रवक्ता श्रेष्ठले चीनमा कोरोना भाइरसबाट सङ्क्रमण भएकामध्ये तीनदेखि चार प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गरे । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तयारी अवस्थामा राखिएको जनाइएको छ ।
अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए । सरुवा रोग विशेषज्ञ चिकित्सक डा शेरबहादुर पुनले कोरोना भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाव दिए । उनले भने, “कोरोना भाइरस आफैँमा नयाँ रोग होइन, यसपटकको भाइरस नयाँ प्रजाति हो ।”