काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच भएको साझा सहमतिका बारेमा छलफल भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
सो अवसरमा सभापति देउवाले संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा हुनुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति कार्यान्वयनमा जोड दिएका थिए । सभापति देउवाले प्रतिनिधिसभाको उपसभामुख काँग्रेसले पाउनुपर्ने कुरा राखेका थिए ।
“राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ, त्यही साझा सहमति खोज्न छलफल भएको हो”, नेम्वाङले भने, “संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।”
प्रधानमन्त्री ओलीले यसअघि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नियुक्ति प्रतिपक्ष दल काङ्ग्रेससँग छलफल गरेरमात्र गरेका थिए । रासस

तपाईको प्रतिक्रिया