
अजित अधिकारी
चितवन- माडी नगरपालिका वडा नं ६ स्थित रामराज्यपुरमा शनिबार स्व कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको आफ्नै सभा हलमा सम्पन्न साधारण सभामा संस्थाका महामन्त्री कोमलनाथ भुषालले प्रस्तुत गरेको गत आर्थिक वर्ष २०७६ र ७७ को वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रेमकुमारी अधिकारीले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।
उक्त कार्यक्रममा संघीय संसदका सांसद् उमेश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । सो कार्यक्रममा बोल्दै सांसद् श्रेष्ठले कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानले नेपाली काँग्रेसका कार्यकर्तालाई एकताबद्ध बनाएको बताए । श्रेष्ठले अबको समय आर्थिक समृद्धिको भएकोले उत्पादनमूलक कार्यक्रममा लाग्न सबैलाई अनुरोध गरे । सांसद श्रेष्ठले शनिबार नै सहयोगस्वरुप प्रतिष्ठानलाई रु पाँच लाखको चेक हस्तान्तरण गरे ।
यसैबीच, कार्यक्रमका विशिष्ट अतिथि पूर्व सभामुख दमननाथ ढुङ्गानाले अहिले स्व कर्णबहादुर घर्तिको नाममा संस्था जन्माएर भौतिक निर्माणको काम अगाडि बढाएकोमा खुशी व्यक्त गरे । ढुङ्गानाले कर्णबहादुर घर्तीको अनाहकमा हत्या भएकोप्रति दुःख व्यक्त गर्दै बिनाकारण कसैको हत्या गरिनु ठूलो अपराध भएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्वजिल्ला सभापतिहरु टेकप्रसाद गुरुङ र पृथ्वीमान गुरुङ, जिल्ला उपसभापति कैलाश कोइराला, सचिवद्धय उत्तम जोशी र राजीव न्यौपाने ,महासमिति सदस्य छविलाल भट्टराई, सबिता बराल, राजेश्वर खनाल, महाधिवेशन प्रतिनिधि साजनकुमार महतो, गिरिजाप्रसाद कोइराला फाउण्डेशनका चितवन जिल्लाका संयोजक कमल आचार्य, नेपाली काँग्रेस चितवन जिल्ला सदस्य शोभाखर चापागाईं, नेपाली काँग्रेस चितवन क्षेत्र नं ३ (क) का सभापति अमृत बाँनिया, क्षेत्र नं ३ का सचिव गोपाल दराई, नेपाल तरुण दल चितवनका पूर्वअध्यक्ष शम्भु अर्याल, माडी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष भरतबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लोकनाथ लामिछानेले सहजीकरण गरेको कार्यक्रममा संस्थाका उपसभापति तिलक भुषालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम प्रतिष्ठानका सभापति तुलप्रसाद घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।