
अजित अधिकारी
चितवन- माडी नगरपालिका ८ स्थित जनजीवन माध्यमिक विद्यालयमा बिहीबारदेखि सुरु भएको माडी नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको शनिबार माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले समापन गरेका छन् । शैक्षिक सीप र शिक्षकहरुबीचको मित्रता कायम गराउने उद्देश्यका साथ खेल आयोजना गरिएको हो ।
नगर परीक्षा समिति माडीको आयोजनामा बिहीबारदेखि सुरु भएको मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगितामा कुल ३४ वटा टिमको सहभागिता रहेको थियो । जनजीवन माध्यमिक विद्यालयको प्राङ्गणमा भएको माडी नगरस्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पुरुषतर्फ १८ टिम र महिलातर्फ १६ वटा टिमको सहभागिता रहेको थियो । बिहीबारबाट सुरु भएको उक्त प्रतियोगिता दुई दिनसम्म चल्ने भनिए पनि समय अभावका कारणले प्रतियोगिता शनिबारसम्म लम्बाइएको थियो ।
प्रतियोगितामा शुक्रबार महिलातर्फ दिवाकर स्मृति विद्यालय प्रथम, कृष्णनगर माध्यमिक विद्यालय दोस्रो र गणेशकुञ्जा आधारभूत विद्यालय तेस्रो भएका थिए ।
शुक्रबार प्रधानाध्यापकहरुबीच गरिएको कुर्सीचाल प्रतियोगितामा दक्षिण अयोध्यापुरी प्रावि विद्यालयका शिक्षक नन्दलाल राई प्रथम, दक्षिण कालिका प्रावि विद्याल देवेन्द्रपुरकी शिक्षिका ममता महतो दोस्रो, र गोविन्दवस्ती आधारभूट विद्यालयका शिक्षक विश्वनाथ घिमिरे तेस्रो भएका थिए ।
शनिबार भएको पुरुषतर्फको भलिबल खेलमा दिवाकर स्मृति विद्यालय प्रथम, माडी माध्यमिक विद्यालय दोस्रो र आधारभूत विद्यालय स्याउलीवास र आधारभूत विद्यालय गणेशकुञ्जको संयुक्त टिम तेस्रो भए ।
माडी नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगितामा विजयी हुने बिजेताहरुलाई शनिबार माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले ट्रफी, मेडल, र प्रमाणपत्र वितरण गरेका थिए ।
उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा माडी खेलकुद विकास समितिका अध्यक्ष एवम् माडी ५ का वडाध्यक्ष रामबन्धु पोख्रेल रहेका थिए भने समापन समारोहमा प्रमुख अतिथि नगर प्रमुख ढकाल रहेका थिए ।
विशिस्ट अतिथिको रुपमा माडी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष एवम् प्रवक्ता शिवहरि सुवेदी, माडी नगरपालिका वडा नं ५ का वडाध्यक्ष एवम् माडी खेलकुद विकास समितिका अध्यक्ष रामबन्धु पोख्रेल, माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष एवम् शिक्षा विकास समितिका संयोजक कृष्णराज अधिकारी रहेका थिए । भने उक्त सो कार्यक्रमको सहजीकरण माडी नगर परीक्षा समितिका सचिव रामप्रसाद भण्डारीले गरेका थिए ।
नगर परीक्षा समिति माडीका अध्यक्ष एवम जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक शोभाखर गौतमको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न हो ।