चितवन- सौहार्द बचत तथा ऋण सहकारी संस्था, रत्ननगर २ ले आफ्ना ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ । ११औँ वार्षिकोत्सवको अवसर पारेर संस्थाको विकासमा योगदान गरेका ७० वर्षमाथिका शेयर सदस्यहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा विष्णुप्रसाद वाग्ले, घनश्याम खनाल, धर्मराज दुवाडी, ठाकुरप्रसाद रिजाल, रूद्रदत्त तिमिल्सिना र गोमाकुमारी तिमिल्सिना रहेका छन् ।

त्यसैगरी सो सहकारीले पूर्वपदाधिकारीहरु र निर्वाचन उपसमिति र अधिकृतहरुलाई पनि सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा र संस्थाका अध्यक्ष चन्द्रप्रसाद नेपालले उनीहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

वार्षिकोत्सवकै अवसरमा सो सहकारीले माधवपुर माविमा अध्ययनरत गरिव समुदायका ३० जना विद्यार्थीहरुलाई स्टेसनरी र जाडोमा लगाउन टोली वितरण गरेको कार्यक्रम संयोजक निरज रेग्मीले जानकारी दिए ।

कार्यक्रममा सरकारले निर्देशन गरेको सहकारी समायोजनको विषयमा पनि छलफल गरिएको छ । कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष कृष्ण महतो, लेखा समिति संयोजक ईश्वर खनाल, उपाध्यक्ष जनार्दन सिंखडालगायतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष नेपालको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका प्रबन्धक भरत पौडेलले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया