चितवन- चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालामा मैदानको काम सुरु भएको छ ।
१६ लाख लिटर पानी क्षमताको सेयर वाल ड्रेनेज ढलानको काम सकेर शनिबारबाट मैदानको काम सुरु भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए । शनिबारबाट सुरु भएको मैदानको काम ४ महिनामा सकिने धुर्मुसले बताए ।
‘सेयर वाल ड्रेनेज ढलानको काम सकेर हामीले मैदानको काम सुरु गरेका छौँ’, उनले भने, ‘अबको ४ महिनाभित्र मैदान निर्माण सम्पन्न गर्नेछौँ ।’ यसअघि साइट क्लियर नहुँदा समस्या भएको भन्दै उनले शनिबारबाट भने मैदानको काम सुरु भएको बताए ।
मैदान पूर्नका लागि आवश्यक माटोको पनि व्यवस्था भईसकेकोले अब काम रफ्तारमा अघि बढ्ने उनले बताए । भोलिबाट पाँचवटा टिपरले माटो तान्ने र डोजरले मैदान सम्याउने काम गर्ने उनले बताए । उनले माघ १९ गतेबाट सुरु हुने महायज्ञ अघि मैदानको आकार तयार भइसक्ने बताए ।
यस्तै शनिबारबाट नै प्याराफिटको कामसमेत सुरु भएको धुर्मुसले जानकारी दिए । उनका अनुसार प्याराफिटअन्तर्गत पिलरको पीसीसी ढलानको काम शनिबार विधिवत रुपमा सुरु भएको छ । जग पहिले नै खनिसकेको र पीसीसी ढलानको काम भने शनिबारबाट सुरु भएको उनले बताए । उक्त प्याराफिट ३० हजार क्षेमताको हुनेछ ।
स्रोत व्यवस्थापन भएको खण्डमा २ वर्षभित्र रगंशाला निर्माण सम्पन्न हुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ । ‘पहिले हामीले दुई वर्ष दुई वर्ष भन्यौँ तर बीचबीचमा विविध कारणले काम रोकियो उनले भने, ‘तर आज म भन्छु स्रोत व्यवस्थापन भएको खण्डमा आजको मितिबाट दुई वर्षभित्र रंगशाला ठडिन्छ ।’

तपाईको प्रतिक्रिया