बेइजिङ– चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र २८ सय जना संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । गत २४ घन्टायता ७६९ जना नागरिकमा यो भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी ३ हजार ८०६ जनामा यसको संक्रमण हुनसक्ने आशका गरिएको आयोगले जनाएको छ ।

कोरोना भाइरसबाट निको भएर एक हजारभन्दा बढी व्यक्ति अस्पतालबाट घर फर्किए पनि उनीहरुलाई विशेष निगरानीमा राखिएको छ । उक्त संक्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ सहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

ती क्षेत्रमा विभिन्न किसिमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरुको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ ।

मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसनलगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जंगली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाइ गर्न निर्देशन दिइएको छ ।

संक्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको छ भने कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।

यस संक्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने संक्रमित हुनेहरु अन्य देशमा पनि भएकाले विश्वभरि नै त्रास फैलिएको छ ।

चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस संक्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरुको भनाइ छ ।

उनीहरुका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस संक्रमणपछिका मुख्य लक्षण हुन् । यस भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे समस्या हो ।

यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा सुरू गर्न लागेको जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरु अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी विमान मंगलबार प्रस्थान गर्ने जनाएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया