अजित अधिकारी
चितवन- माडी नगरपालिका ३ बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयको प्राङ्गणमा सोमबार माडी नगरस्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
उक्त प्रदर्शनीमा माडीका ८ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । उक्त प्रदर्शनीमा झन्डै २० वटा समूहहरु रहेका थिए । ती समूहमा विद्यार्थीहरुले बनाएका विभिन्न वैज्ञानिक उपकरणहरु निर्माण गरिएका थिए ।
विद्यार्थीहरुका रचनात्मक सीप र कलाहरु प्रदर्शनी गरिएको कार्यक्रममा जहाज, हेलिकप्टर, डुङ्गा, पानी जहाज, घर, रोटाभेटर, स्काभेटर, ट्याक्टर, रकेट, बसलगायतका सामग्रीहरु निर्माण गरिएको थियो ।
माडी नगरस्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक विज्ञान प्रदर्शनी कार्यक्रममा वैज्ञानिक उपकरणहरु बनाउने माडीका उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरुलाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।
प्रदर्शनीमा माडी माध्यमिक विद्यालय प्रथम, दिवाकर स्मृति विद्यालय द्वितीय र ब्रहमज्योति आधारभूत विद्यालय तृतीय भएका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल रहेका थिए ।
यस्तै, विशिष्ट अतितिहरुमा माडी नगरकी उपप्रमुख ताराकुमारी काजी महतो र शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल रहेका थिए ।

कार्यक्रममा विभिन्न शैक्षिक सस्थाका शिक्षक प्रतिनिधि, विभिन्न पार्टी प्रतिनिधि एवं विभिन्न सञ्चार संस्थामा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रममा स्वागत मन्तव्इ माडी माध्यमिक विद्यालयका शिक्षक एवं विज्ञान प्रदशनी संयोजक विजय गुप्ताले गरेका थिए ।

कार्यक्रममा माडी माध्यमिक विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेल, माडी शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल, माडी उपप्रमुख ताराकुमारी काजी महतोले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

माडी माध्यमिक विद्यालयका शिक्षक नागेन्द्र झाले सञ्चालन गरेको कार्यक्रम विद्यालय व्इवस्थापन समितिका ज्येष्ठ सदस्य बलबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया