चितवन- ओमशान्ति राष्ट्रिय आधारभूत विद्यालय रत्ननगर–१, निपनीको १९औँ वार्षिकोत्सव शनिबार एक भव्य समारोहबीच सम्पन्न भएको छ ।
विभिन्न भेषभूषा र झाँकीसहित सुरू भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष नेमराज पौडेलले सबै अतिथि एवम् अभिभावकहरुलाई स्वागत गर्दै स्थानीय स्तरबाट सञ्चालित विद्यालयले १९औँ वार्षिकोत्सव मनाउन सफल भएकोमा खुसी प्रकट गरे । विद्यालयकी प्रधानाध्यापक राधा चौधरीले विद्यालयको विगतको पृष्ठभूमिबारे प्रकाश पार्दै विद्यालयको आर्थिक स्रोत बलियो नहुँदा अपेक्षा गरेअनुसारको स्तरोन्नति हुन नसकेको बताइन् ।प्रअ चौधरीले माघ १६ गते सरस्वती पूजाको दिनदेखि विद्यालयमा मन्टेश्वरी अवधारणामा नर्सरी कक्षाको शुभारम्भ गरिएको बताउँदै आगामी शैक्षिक शत्रदेखि अंग्रेजी माध्यमबाट पढाइ गर्न लागिएको जानकारी बताइन् । उनले सबै अभिभावक, शिक्षासेवी, समाजसेवी, जनप्रतिनिधिहरुबाट सहयोगको अपेक्षा गर्दै सबैको हातेमालोबाटै गरिब तथा विपन्न बालबालिकाले पनि अंग्रेजी माध्यममा पढ्न सक्ने उल्लेख गरिन् । पछिल्लो समय निजी स्कुलतर्फ बढ्दो आकर्षणका कारण सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्नु आवश्यक भइसकेको उनले बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर महतोको अध्यक्षता एवम् रत्ननगर नगरपालिकाका कार्यकारी प्रशासकीय अधिकृत टुवराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा होटल स्टार व्यङ्क्वेटका सञ्चालक भेषराज दुवाडी, अक्सफोर्ड कलेजका प्रोफेसर इन्जिनियर हरि ढकाल, बाघमारा सामुदायिक वनका जंगीलाल चौधरी, ओयसिस मेडिकल कलेजका डा मनोजकुमार चौधरी, थारु कल्याणकारिणी सभा चितवनका पूर्वअध्यक्ष टिकेन्द्र चौधरी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष विकन महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राजनीतिकर्मीहरु प्रेम दवाडी, पुरु खनाल, जीवलाल पुरी ‘निर्जरा’, समाजसेवी रामकृष्ण कार्की, जनप्रतिनिधि शालिकराम पराजुलीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सातवटा अक्षयकोष दाता, विभिन्न समाजसेवी तथा संघसंस्थाका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका छात्रछात्राले सांस्कृतिक प्रस्तुति देखाएका थिए । सोही अवसरमा सो विद्यालयमा अध्ययनरत चार र पाँच कक्षाका विद्यार्थीका लागि अंग्रेजी शव्दकोष वितरण गरिएको थियो ।
चितवन पोष्ट दैनिकका प्रबन्ध सम्पादक स्व. जीवराज अर्यालको स्मृतिमा चितवन पोष्टकै छापाखाना कालिका अपसेट प्रेसद्वारा प्रकाशित शव्दकोष चितवन पोष्ट दैनिकका सहसम्पादक केशव भट्टराईले वितरण गरेका हुन् । शव्दकोष वितरण गर्दै पत्रकार भट्टराईले विद्यार्थीले शव्दकोषबाट ज्ञान आर्जन गर्न सके आफ्ना दिवंगत सम्पादकप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

तपाईको प्रतिक्रिया