
चितवन- चितवनको खैरहनी ३ स्थित तरकारीचोकस्थित पूर्वपश्चिम राजमार्गमा जलेश्वरबाट काठमाडौँ जाँदै गरेको ना७ख ३२४८ नम्बरको बसले सोही दिशाबाट गइरहेको ना६ख १५०६ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा एक जनाको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको मनोरसा ६ बस्ने गुन्दो मण्डलका आठ महिनाका छोरा सत्यम् मण्डल रहेका छन् । बसमा सवारमध्ये १० जना घाइते भएकोमा महोत्तरीका ४० वर्षीय सहदेव महतो, १९ वर्षका हरिशंकर सिंहको अवस्था चिन्ताजनक छ । उनीहरुको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यस्तै, भारतको सीतापुरका ४० वर्षीय हरि रामको अवस्था मध्यम छ भने महोत्तरी बिर्ताकी १० वर्षीया अनुष्का राम र महोत्तरी औरही नगरपालिका ७ का २५ वर्षीय सचिन यादवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै महोत्तरी बिर्ता नगरपालिका २० कि रीनादेवी राम, मनोरसा नगरपालिका ६ का ३५ वर्षीय गुन्दो मण्डल, निजका तीन वर्षीय छोरा शिवम् मण्डलको अवस्था मध्यम रहेको छ भने गुन्दो मण्डलकी श्रीमती २५ वर्षीया सरिता मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनापश्चात् सडक अवरोध नभएको र दुवै सवारीसाधन र ट्रक चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालक भने फरार रहेको बताइएको छ ।