चितवन- उद्योग वाणिज्य संघ–चितवनले संघको ६०औँ स्थापना दिवस एवम् हीरक जयन्ती आइतबार एक कार्यक्रम गरी मनाएको छ । विसं २०१६ माघ १९ गते व्यापार संघ–नारायणगढको नाममा स्थापित भई उद्योग वाणिज्य संघ–नारायणगढ हुँदै संघ उद्योग वाणिज्य संघ–चितवनसम्म आइपुग्दा आफ्नो स्थापनाको साठी वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा अध्यक्ष राजु श्रेष्ठले संघको स्थापनाकालदेखि हालसम्म योगदान पुर्याउने पूर्वअध्यक्ष, पूर्वकार्यसमिति र संघका साधारण सदस्यसमेतको सहयोग र सद्भावबाटै संघ आज देशको उत्कृष्ट संघको रुपमा स्थापित हुन पुगेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् सम्पत्ति संरक्षण कोषका अध्यक्ष के.एल. भुषणले उद्योग वाणिज्य संघ–चितवन नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य रहेको बताउँदै स्थापनाकालदेखि हालसम्मका गतिविधिहरु स्मरण गर्दै संघ सबैको साझा आस्थाको केन्द्रविन्दु भएकोले यसलाई फलाउने फूलाउने कार्यमा आफूले सकेसम्म अझै सक्रिय सहयोग पुर्याउने बताए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष महेन्द्रलाल प्रधान, निवर्तमान अध्यक्ष सहनलाल प्रधान, पूर्वअध्यक्ष एवम् नेउवा महासंघका केन्द्रीय सदस्य कल्याण जोशी, वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, भाँडावर्तन व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा संघका संस्थापक सदस्यद्वय दानबहादुर श्रेष्ठ र वसन्तलाल चुकेलगायत पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।