चितवन- चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोगार्थ धनधान्यान्चल महोत्सव सुरु भएको छ । २६ गतेसम्म चल्ने महोत्सवको मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित २१ खेलाडीले उद्घाटन गरे ।
उद्घाटनअघि मंगलपुरबाट झाँकीसहितको बृहत् शोभायात्रा निकालिएको थियो । शोभायात्रामा संघसंस्थाको व्यानरसहित हजारौँको उपस्थिति रहेको थियो । मंगलपुर बजारबाट सुुरु भएको शोभायात्रा गाविसचोक हुँदै रंगशालास्थित धनधान्याचल महोत्सव परिसरमा पुगेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले रंगशाला निर्माणका लागि चितवन एकढिक्का भएको बताए । उनले राजनीतिक विचार, जातधर्मभन्दा माथि उठेर यो महान् अभियान सफल बनाउन चितवन जुरुक्कै उठेको अनुभूति भएको बताए ।
उनले चितवनवासीले देशकै नमुना परियोजना निर्माणमा देखाएको एकताले संसारभर सकारात्मक सन्देश जाने बताए । धुर्मुस सुन्तलीले यसअघि गरेका कामको कारण नै यो महाअभियान सफलतातर्फ अघि बढेको उनको भनाइ थियो ।
अर्का वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले चितवनमा निर्माणाधीन रंगशाला देशकै गहना भएको बताए । रंगशालाले चितवनको महत्व अझै बढ्ने उनले विश्वास व्यक्त गरे । रंगशाला निर्माण सम्पन्न भएपछि नेपाली खेलाडीहरुसहित सम्पूर्ण नेपालीहरुको छाती गर्वले फुल्ने उनको भनाइ थियो ।
पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक एवं रंगशाला खेलकुद समितिका संयोजक दीपक विष्टले आफ्नो पालोमा यस्तो रंगशालामा खेल्ने मौका नपाए पनि भावी पिंढीले अवसर पाउनेमा निकै खुशी लागेको बताए । ‘हामीले खेल्न नपाए पनि भावी पिंढीले यही रंगशालामा खेल्न पाउनेछन् उनले भने, ‘यो रंगशालामा नेपालको झण्डा फहराएको हेर्न पाउदा निकै खुशी हुनेछौं ।’
प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितीको सभापती कृष्ण भक्त पोख्रेलले २०४६ र २०६–२६३ को आन्दोलनपछि चितवनमा पहिलोपटक यति धेरै जना जागरुक भएको बताए ।
धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले नेपालमा अन्तर्राष्ट्रियस्तरको रंगशाला नहुँदा देशमै खेल खेल्न नपाएको भन्ने चौतर्फी आलोचनापछि आफूहरु यो अभियानमा लागेको बताए । आजको उपस्थितिले यसलाई सार्थक तुल्याएको उनको भनाइ थियो ।
धनधान्याचल महायज्ञका प्रमुख वाचक दिनबन्धु पोख्रेलले यो अभियानमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले महायज्ञमा आर्थिक सहयोगका देशविदेशबाट धेरै भक्तजनहरु आउने तयारीमा रहेको बताउँदै रंगशाला बन्नेमा ढुक्क हुन आग्रह गरे । यस्तै उनले महायज्ञमा आफू लिनभन्दा पनि दिन आएको बताए । उनले रंगशाला निर्माणका लागि आफ्नो तर्फबाट १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले रंगशाला निर्माणका चितवनका सबै राजनीतिक दलहरु एक भएर अघि बढेको बताए । यस्तै उनले चितवनवासीलगायत सम्पूर्ण नेपालीलाई यो अभियान सफल बनाउनका लागि धनधान्याचलमा सहयोग गर्न आग्रह गरे ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ६२–६३ को आन्दोलनपछि चितवनमा रंगशाला निर्माणार्थ सुरु भएको धनधान्याचलमा यति धेरै जनता उर्लेको बताए । ‘६२ ६३ को आन्दोलनपछी चितवनमा पहिलो पटक यती ठूलो जनलहर उर्लिएको छ उनले भने, यो जनलहरले रंगशाला बन्ने पुष्टि गर्छ ।’ यसले चितवनवासी आन्दोलनमा मात्र नभई यस्ता बिकास निर्माणको कार्यमा पनि एक जुट हुन्छन् भन्ने सन्देश दिएको उनको भनाइ थियो ।
यस्तै चितवनका सम्पूर्ण राजनीतिक दलहरुको एकताले पनि यो अभियानमा सहयोग पुग्ने उनको विश्वास छ । ‘दुई महिनाअघि हामी फरकफरक पार्टीबाट चुनावको लागि उठेका थियौं उनले भने, अहिले दुई महिनापछि रंगशाला निर्माणका लागि फेरि एकजुट भएका छौं, यसले ठूलो सहयोग पुग्नेछ ।’ उनले यो चितवनको मात्र नभई राष्ट्रकै गौरभको परियोजना भएकोले सबैलाई सहयोगका लागि अपिल गरे ।
कार्यक्रममा प्रदेश साँसद कृष्ण भुर्तेल, लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, धनधान्याचल महोत्सव मुल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेलगायतले बोलेका थिए । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले स्वागत मन्तव्य राखेको कार्यक्रम मूल आयोजक समितिका संयोजक विजय सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।