चितवन- चितवनमा बहुचर्चित सभ गृहको काम अघि बढ्ने भएको छ । अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सभागृह (सिटिहल) को काम अघि बढ्ने भएको हो ।
भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा निर्माण हुँदैछ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यही महिनाभित्रमा सभागृह निर्माणका लागि बोलपत्र आह्वान गरिने र आगामी वैशाख महिनाभित्रमा शिलान्यास गरिने जानकारी दिइन् ।
सघन सहरी तथा भवन निर्माण आयोजनाले सभागृहको निर्माणको काम अघि बढाउने छ । रु एक अर्बभन्दा माथिको बोलपत्र हुने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने जनाइएको छ । यसका लागि कम्तीमा ४५ दिनको समय राखेर सूचना जारी गर्नुपर्ने हुन्छ ।
अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइ सभागृह निर्माण गर्न स्रोत सुनिश्चितताको पत्र प्रदान गरेको हो । दुई वर्षभित्रमा काम सम्पन्न हुनेगरी बोलपत्र आह्वान गरिँदै छ । सभागृहमा दुई हजार अट्ने एउटा ठूलो अडिटेरीयम हल, ३०० अट्ने दुईवटा, २०० अट्ने एउटा र १०० अट्ने तीन वटा हल हुने बताइएको छ ।
उनले सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगँैचा, २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ रहने बताइन् । सभागृहको नक्साङ्कन र विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको भए पनि बजेटको सुनिश्चितताको अभावमा काम रोकिएको थियो ।
सघन सहरी तथा भवन निर्माण आयोजना चितवनबाट भर्खरै मात्र सरुवा भएका प्रमुख कुमार घिमिरेका अनुसार सभागृह नेपालकै अत्याधुनिक र ठूलो हुनेछ ।
काम सम्पन्न गर्न रु २ अर्बभन्दा बढी लाग्ने भए पनि मुख्य कामका लागि पहिलो चरणमा अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको सुनिश्चितता पत्र दिएको उनले जानकारी दिए ।