चितवन- चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन आयोजना गरिएको धनधान्याचल महोत्सवमा साढे ६६ लाखभन्दा बढी रकम संकलन भएको छ । आइतबारबाट सुरु भएको धनधान्यान्चल महोत्सवको दोस्रो दिन आज सोमबार ६६ लाख ५६ हजार १ सय ५७ रुपैँया संकलन भएको मुल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिए ।
महोत्सवको दोस्रो दिन आज कलेज अफ मेडिकल साइन्सेसका प्राडा भी नटराज प्रसादबाट रु २० लाख रुपैयाँ सहयोग प्राप्त भएको संयोजक सुवेदीले जानकारी दिए । यस्तै भरतपुर २२ निवासी जीवनराज कँडेलले १५ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको उनले बताए ।
आज नै मुल आयोजक समितिका महासचिव समेत रहेका भरतपुर १२ निवासी दिनेश कुमार र सन्ध्या लक्ष्मी चुकेको तर्फबाट १० लाख सहयोग प्राप्त भएको उनले बताए । यस्तै भरतपुरका अरुण श्रेष्ठ, काठमाडौँका चन्द्र खड्की र रवीन्द्र कसजुबाट समान ५/५ लाख प्राप्त भएको छ ।
एनआ एन जापानबाट ३ लाख, होटल व्यवसायी संघ एवं होटल गंगोत्रीबाट रु १ लाख ११ हजार १११, कृष्ण घिमिरेबाट १ लाख २ हजार ६ सय, भरतपुर ९ का नेत्रप्रसाद गैरेबाट ५१ हजार, भरतपुर ४ का छविलाल ढकालबाट ५० हजार र भरतपुर १५ फुलबारी स्थित सिर्जनशिल आमा समूहबाट रु ३० हजार ३३५ प्राप्त भएको छ । यस्तै आज भरतपुर २४ की ९४ वर्षीया खिलाकुमारी गोदारसँगै अन्य भक्तजनहरुले तुलादान गरेको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिइन् ।
यसैबीच रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा आउने भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै आयोजकले धनधान्यान्चल परिसरको १० किलोमिटर वरपर निःशुल्क यातायातको व्यवस्था गरेको यातायात व्यवस्थापन उपसमितिका संयोजक बद्रीप्रसाद पौडलले जानकारी दिए ।
यस्तै चितवन बाहिरका जिल्लाबाट आउने भक्तजनहरुलाई मध्यनजर गर्दै होटल व्यवसायी संघ चितवन तथा रेष्टुरेण्ट व्यवसायीहरुले आवासमा ३० प्रतिशत र खानामा १० प्रतिशत छुट दिने निर्णय गरेको आवास व्यवस्थापन उपसमितिका संयोजक शर्मिला न्यौपानेले जानकारी दिइन् ।
यस्तै आज चर्चित लोकदोहोरी गायक पशुपति शर्माले संगीतिक प्रस्तुतिसमेत दिएका थिए । ५० करोड संकलनको लक्ष्यसहित आयोजित महोत्सवमा वाचन प्रविण दिनबन्धु पोखरेलले कथा प्रवाचन गरिरहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवमा आज भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । मंगलबारबाट भक्तजनहरुको उपस्थिति र आर्थिक संकलन पनि बढ्ने आयोजकले जनाएको छ । करिब ३ अर्ब लागतमा २ वर्षभित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया