
चितवन- भरतपुर महानगरपालिका वडा नं ९ शरदपुरमा जारी श्रीमद्भागवत् विराट् ज्ञानमहायज्ञको छैंटौँ दिनसम्म आइपुग्दा दानदाताको सहभागिता बढ्दै गएको छ । सोमबारमात्रै १४ लाख ९४ हजार ४ ९८ रुपैया आर्थिक संकलन भएको महायज्ञ मूल समारोह समितिका संयोजक टंकनाथ पौडेलले बताए ।
ॐकार परिवारको सहभागिता र ब्राह्मण समाज नेपालको आयोजनामा आयोजना गरिएको महायज्ञ १५ गतेदेखि सुरु भएको हो । महायज्ञमा प्रमुख वाचकको रूपमा पण्डित बालकृष्ण अर्याल रहेका छन् । महायज्ञमा दानदाताहरुको सहभागिता उत्साहजनक देखिएको छ । महायज्ञमा भुमिदान गर्नेहरुको संख्यासमेत बढेको छ ।
अहिलेसम्म भुमिदानबाटमात्रै १५ लाख बढी रकम संकलन भइसकेको महायज्ञका आर्थिक समितिका संयोजक राम ओस्तीले बताए । आइतबारमात्रै संयोजक टंकनाथ पौडेलले आफना साथीभाइ र घरपरिवारबाट २१ वटा कित्ता भूमिदानको घोषाणा गरेका थिए । सोमबार पनि ५० कित्ता बढी भूमिदान भएको बताइएको छ ।
त्यस्तै, भवन निर्माणका लागि विभिन्न दाताहरूले निर्माण सामग्री जस्तै सिमेण्ट, छड आदि पनि दान गरेका छन् । वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनलाई एउटा कित्तामा १.५० वर्ग मिटर क्षेत्रफल पर्ने गरी ६०१ कित्तामा विभाजन गरेर भूमिदानको ब्यवस्था गरिएको हो । समाजले एउटा कित्ताको मूल्य रु २१ हजार १ सय ११ कायम गरेको बताएको छ ।
सोही जमिनमा बनाइने भवनमा दिवा सत्संग तथा योग कक्षा, धार्मिक पुस्तकालय, वृद्धवृद्धा तथा दुःखीका लागि आवास सञ्चालन गरिने महायज्ञ मूल आयोजक समितिका संयोजक टंंकनाथ पौडेलले बताए । समाजमा हराउँदै गएको हिन्दु धर्मको ज्ञान र दर्शनको बारेमा आममानिसमा जानकारी प्रवाह गरी सामाजिक जागरण ल्याउने, ब्राहमण समाज नेपाल चितवनको भवन निर्माण गर्ने, जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने, गरिब असाहय एवं ज्येष्ठ नागरिकको बहुआयामिक सहयोगार्थ अक्षयकोष स्थापना गर्ने, पञ्चायन मन्दिर निर्माणका साथै दैनिक धार्मिक प्रवचनको व्यवस्था गर्ने, धार्मिक पुस्तकालय एवं वाचनालय स्थापना गर्ने, प्रत्यक दिन योग कक्षा सञ्चालन गर्ने र गुरुकुल शिक्षालाई प्रोत्साहन गर्ने उदेस्यसहित महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समितिका संयोजक पौडेलले बताए ।
महायज्ञलाई तन मन र धनले सहयोग गरी सफल बनाउन आर्थिक समितिका संयोजक राम ओस्तीले आग्रह गरेका छन् ।