चितवन- चितवनको रामपुरमा ५० करोड संकलनको लक्ष्यसहित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गरिएको धनधान्यान्चल महोत्सवमा श्रीमद्भागवत् महापुराण सुरु भएको छ ।
महोत्सवमा सोमबारदेखि श्रीमद्भागवत् महापुराण सुरु भएको मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । धनधान्याचल महोत्सवका प्रमुख वाचक पण्डित दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत् मा्हापुराण सुरु भएको उनले बताए ।
महापुराण वाचनसँगै भजनकीर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम पनि सुरु भएको उनले बताए । यस्तै आज बिहानैबाट दाताहरु दान गर्ने क्रम पनि सुरु भएको उनले बताए ।यसैबीच, निर्माणाधीन रंगशालामा सुरु भएको धनधान्याचल महोत्सवमा ९४ वर्षीया वृद्वाले तुलादान गरेकी छिन् । भरतपुर २४ की ९४ वर्षीया खीलाकुमारी गोदारले आफ्नो तौल ४५.८६ को ११ हजार बराबरको तुलादान गरेको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिइन् ।
वृद्ववृद्वाले तुलादान गर्दा शुभ हुने धार्मिक परम्परा रहेकोले दान गरेको गोदारले बताइन् । गोदारसँग अन्य भक्तजनहरुले पनि तुलादानको लागि नाम दर्ता गराएको समिति संयोजक शर्माले जानकारी दिइन् ।
२६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड रकम संकलन हुने अनुमान गरिएको छ भने ७६ लाख ७६ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । करिब ३ अर्ब लागतमा २ वर्षभित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया