चितवन- क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरले ‘वाटर एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । आपत्कालीन अवस्थामा पानीको गुणस्तर नाप्नका लागि अत्याधुनिक उपकरण जडान भएको वाटर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।
युनेसेफ र खानेपानी विभागको संयुक्त लगानीमा एम्बुलेन्स खरिद गरिएको क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरका केमिष्ट योगेन्द्रनारायण देवले जानकारी दिए । पानी परीक्षण गर्न आवश्यक उपकरण भएको एम्बुलेन्सलाई करिब रु ५० लाख परेको उनले बताए ।
असोज महिनादेखि कार्यालयले पानी परीक्षणका लागि घुम्ती सेवा शुरु थियो । अहिलेसम्म धादिङ, मकवानपुर, माडी, खैरहनीलगायत स्थानमा लगेर स्थलगत रुपमा पानीको परीक्षण गरिएको देवले बताए । महामारी हुँदा प्रभावित क्षेत्रहरुमा लगेर पानीको परीक्षण गर्न यस एम्बुलेन्सले सहयोग पुग्ने उनको विश्वास छ ।
“विशेषगरी दैवी प्रकोपका घटनाको समयमा पानीको स्थलगत परीक्षण गरी गुणस्तर कायम राख्नका लागि सहयोग पुने देखिन्छ”, उनले भने, “कसैले पानी परीक्षण गर्न आउनुप¥यो भनेको खण्डमा हामीले तुरुन्तै गएर पानीको परीक्षण गर्न सक्छौँ ।”
वाटर एम्बुलेन्स आएपछि टाढा टाढा गएर पानीको परीक्षण गर्न सहज भएको उनले बताए । स्थलगत पानी परीक्षण गरेपछि तत्कालै पिएच, पारा, इसी, एफआरसीलगायत छवटा पानीका पारामितिहरुको नतिजा दिने गरिन्छ ।
यस्तै अन्य पारामितिहरुको नतिजा चौबिस घन्टाभित्र दिने गरिएको देवले जानकारी दिए । घुम्ती सेवाका लागि एकजना केमिष्ट र चालक खटिने गरेका छन् ।