चितवन- भरतपुरको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन जारी धनधान्यान्चल महोत्सवमा मंगलबार पनि सहयोग जुट्ने क्रम जारी छ ।
नेपाल महिला संघ चितवनले धनधान्याचल महोत्सवमार्फत रंगशाला निर्माण लागि रु १ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ । संघकी अध्यक्षसमेत रहेकी भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले उक्त रकम घोषणा गरेकी हुन् ।
सहयोग घोषणा गर्दै शाहले सबैलाई यो अभियान सफल बनाउन एकजुट हुन आग्रह गरिन् । रंगशाला निर्माण अभियान सम्पूर्ण नेपालीको साझा अभियान भएको उनको भनाइ थियो । उनले धनधान्याचल सफल बनाउन महिलाहरुको भूमिका महत्वपूर्ण हुने बताइन् । यस्तै आज बिहानदेखि नै विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरिरहेका छन् ।
तेस्रो दिन आज राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभा सदस्य कोमल ओली र इन्दु कडरियाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न वडाका महिला सदस्य, चिकित्सा क्षेत्रका महिलाहरु, महिला उद्यमी, महिला पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
आजको कार्यक्रम मातृशक्ति परिचालन समिति संयोजकसमेत रहेकी राष्ट्रियसभा सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावलको अध्यक्षता रहेको थियो ।
रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखि धनधान्याचल महोत्सव सुरु भएको छ । महोत्सवमा पण्डित दीनबन्धु पोखरेल प्रमुख वाचकको रुपमा रहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड उठाउने लक्ष्य रहेको छ ।
करिब ३ अर्ब लागतमा २ वर्षभित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।