– कृष्ण दवाडी
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको दैनिकी प्रायः व्यस्त हुने गर्दछ । सत्तारुढ पार्टीको कार्यकारी अध्यक्ष उनी बिहानैदेखि राति अबेरसम्म विभिन्न कार्यक्रममा व्यस्त रहन्छन् । आफ्नो व्यस्त समय तालिकाबाट उन्मुक्ति खोज्दै अध्यक्ष प्रचण्ड कहिलेकाहीँ शान्त तथा रमणीय स्थानमा पुगेर थकान र व्यस्ततालाई भुल्दै आउने गर्छन् ।
पार्टीको पाँच दिन लामो केन्द्रीय समितिको बैठकपछि आज दिउँसो १ः३० बजे पोखरा विमानस्थलमा उत्रेलगत्तै उनी परिवारका सदस्य तथा पार्टीका केही नेतासहित पोखरा महानगरपालिका–११ मा अवस्थित रमणीय काहुँडाँडा पुगे । विगतमा अध्यक्ष प्रचण्ड पोखरा ओर्लिएलगत्तै विभिन्न कार्यक्रम व्यस्त हुने गर्थे । कार्यक्रम भेट्टाउनै मुस्किल पर्दथ्यो । आज भने उनले आराम गर्ने समय निकाल्दै पार्टीका नेताहरुलाई आनन्दित र रमणीय कुनै नयाँ ठाउँमा जाने इच्छा प्रकट गरे ।

काहुँडाँडाबाट पोखरा बजार, हिमश्रृङ्खला तथा वरिपरिका डाँडाहरु निकै रमणीय र सुन्दर देखिन्छ । यहाँको धरहरा चढेर निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, फेवाताल, सराङ्कोट, हेमजा, लगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । उनले भने, “आहा !कस्तो सन्दर पोखरा । बजार कति रमणीय देखिने रहेछ यहाँबाट, यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा असाध्यै राम्रो सम्भावना भएको ठाउँ हो ।”

अध्यक्ष प्रचण्डले सो अवसरमा काहुँवासीका मागसमेत सुन्नुभएको थियो । स्थानीय जनप्रतिनिधि मीन गुरुङलगायलते निर्माणाधीन धर्मकाया बुद्ध मण्डला, खानेपानी समस्या तथा नयाँ निर्माण गर्ने योजना रहेको धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्दै आवश्यक सहयोग गर्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डलाई काहुँडाँडामा भेट्न पाउदा र आफ्ना मागहरु राख्न पाउँदा आफूहरु खुशी भएको वडा सदस्य गुरुङले उल्लेख गरे । गुरुङले काहुँको पर्यटकीय पूर्वाधार विकास हुनेमा आफूहरु आशावादी रहेको बताए । पक्की सडक सुविधा पुगेसँगै पछिल्लो समय काहुँडाँडा अन्नपूर्ण र माछापुच्छरे हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ ।

एक हजार ४४० मिटर उचाइमा अवस्थित यहाँबाट कास्की, स्याङ्जा, तनहुँका केही भूभाग तथा अन्नपूर्ण तथा माछापुच्छरे हिमश्रृङखला नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ । तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्ल र सामाजिक अभियन्ता स्व मेजर वीरसिंह गुरुङको सक्रियतामा विसं २०२६ मा निर्माण गरिएको धरहरा विसं २०७२ को महाभूकम्पले क्षति पु¥याएकोमा अहिले जीर्णाद्धार गरिएको छ । नौ तलासम्मको नयाँ धरहरा निर्माणको योजना अघि सारिएको छ ।

छ रोपनी जमिनमा निर्माणाधीन धर्मकाया बुद्ध मण्डलामा ८० मिटर अग्लो बुद्धको मूर्ती, ध्यान केन्द्र, छात्रवास, सङ्ग्रहालाय र बगैँचा निर्माण गर्ने योजना छ । रासस

तपाईको प्रतिक्रिया