
चितवन- भरतपुर गुर्खाज र सौराहा स्याण्ड्स प्रथम सिएमसी चितवन प्रिमियर लिगको इलिमिनेटरमा भिड्ने भएका छन् । भरतपुर र सौराहा क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा भिड्ने भएका हुन् ।
समूह चरणको खेल सकिँदा दुवै टोलीले समान ४/४ अंक जोडेका छन् । नेट रन रेटको आधारमा भरतपुरले दोस्रो र सौराहाले तेस्रो स्थानमा रहँदै समूह चरण पार गरेका हुन् । फाइनल प्रवेशका लागि भरतपुर र सौराहाले बिहीबार इलिमिनेटर खेल्नेछ । उक्त खेलको विजेताले उपाधिका लागि राप्ती र्यापिड्सको सामना गर्नेछ । राप्ती चारै खेलमा सहज जीतका साथ ८ अंक जोड्दै समूह विजेताको रुपमा फाइनलमा प्रवेश गरिसकेको छ ।प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा राप्तीले माडीलाई पराजित गरेपछि भरतपुरलाई इलिमिनेटरको बाटो खुल्ला भएको हो । नारायणगढको क्याम्पाचौरमा भएको खेलमा राप्तीले माडीलाई एक रनले पराजित गर्यो । १६ ओभरमा घटाइएको खेलमा राप्तीले दिएको १०२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको माडी १५ ओभर ५ बलमा १०० रनमै अल आउट भयो ।
खेलमा राम्रो सुरुवात गरेको माडीको मध्यक्रमको ब्याट्सम्यान चल्न सकेनन् । पहिलो विकेटका लागि ओपनरद्वय खडक बोहरा र सुजन चापागाईंले ४८ रनको साझेदारी गरे । बोहराले २२ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३० रन बनाए । यस्तै अर्का ओपनर चापागाईं २० बलमा ३ चौकासहित २१ रन बनाएर आउट भए । बोहरा र चापागाईं आउट भएपछि धर्मराएको माडीको इनिङ कसैले पनि उकास्न सकेनन् ।
माडीको इनिङ ध्वस्त बनाउन राप्तीका विशाल यादवले ३ विकेट लिए । कसिलो बलिङ गरेका यादवले २ ओभरमा ४ रनमात्र दिए । यस्तै कप्तान आकाश थापा र भीम सार्कीले समान २/२ विकेट लिए ।
त्यसअघि पहिलो ब्याटिङ गरेको राप्तीले निर्धा्िरत १६ ओभरमा ९ विकेट गुमाउदै १०१ रन बनाएको थियो । राप्तीका लागि हरिबहादुर चौहानले २७ रन बनाए । यस्तै कप्तान आकाश थापाले १३ तथा राम नरेश गिरीले १२ रन बनाए । माडीका कृष्ण कार्कीले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । यस्तै आजै सम्पन्न दोस्रो खेलमा इच्छाकामना वारियर्सलाई पराजित गर्दै सौराहाले पनि इलिमिनेटरमा स्थान पक्का गरेको हो । इलिमिनेटरमा स्थान पक्का गर्न सौराहाले राप्तीलाई ३६ रनले स्तब्ध पार्यो ।
सौराहाले दिएको १४६ रनको लक्ष्य पछ्याएको इच्छाकामना १०९ रनमै समेटियो । खराब सुरुवात गरेको इच्छाकामनाले खाता नै नखोली पहिलो विकेट गुमाएको थियो । सौराहाका ओपनर लोकेश बम खाता नै नखोली पेभिलियन फर्किए । उनी आकाश चन्दको बलमा एलबी डब्लु धरापमा परे ।
इच्छाकामनाका लागि केशव जंगले २३ रन बनाए पनि हार भने टार्न सकेनन् । उनी पनि चन्दकै शिकार भए । यस्तै गौतम केसी १६ तथा उत्सव श्रेष्ठ ११ रनमा पेभिलियन फर्किए । इच्छाकामनाविरुद्ध सौराहाका आकाश चन्द र राजेश लम्सालले समान ३/३ विकेट लिए । चन्दले ४ ओभरमा ११ रन खर्चिए भने ढकालले समान ओभरमा २० रन दिए ।
त्यसअघि पहिलो ब्याटिङ गरेको सौराहाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । उसका लागि राजेश ढकालले ५६ रनको अर्धसतकीय योगदान गरे । ४६ बल खेलेका ढकालले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै पवन थापाले २९ बलमा एक चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए । आकाश चन्दले अभिजित १३ रन बनाए । इच्छाकामनाका अमरसिंह रौटेलाले २ विकेट लिए ।
२५ गतेसम्म हुने प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ । यस्तै विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दी म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यावसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने छ ।