चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा कार्यरत दैनिक ज्यालादारीका कर्मचारीले ताला लगाएपछि विश्वविद्यालयको दैनिक काम काज ठप्प भएको छ ।
करारमा नियुक्त गरिनुपर्ने भन्दै कर्मचारीले माघ १२ गते विश्वविद्यालयका उपकुलपति, रजिष्टार, डीन, परीक्षा शाखा र सेवा आयोगमा ताला लगाएका थिए ।
विश्वविद्यालयले विसं २०७५ को असार मसान्तभित्र पाँच वर्ष अवधि पुगेका दैनिक ज्यालादारीका कर्मचारीलाई मासिक ज्यालादारीमा लैजाने निर्णय गरेको छ ।
मासिक ज्यालादारीमा लाने निर्णय गरेको भन्दै कर्मचारी अनिश्चितकालीन तालाबन्दी गरेर आन्दोलित बनेका छन् ।
यसअघि दैनिक ज्यालादारीमा रहेका कर्मचारीले आन्दोलन गरेपछि करारमा लैजाने सहमति भएको थियो । सेवा अवधिको गणनामा पहिला काम गरेका आधारमा पालोअनुसार करारमा लाने सहमति पालना नभएको विश्वविद्यालयमा कार्यरत कर्मचारीले बताएका छन् ।
दुई वर्षअघि त्रिभुवन विश्वविद्यालयबाट समायोजन भएका २७ जनालाई मात्र करारमा लगिएको थियो । बाँकीलाई क्रमैसँग छ–छ महिनामा करारमा लैजाने सहमति भए पनि त्यो नगरिएको हुँदा ताला लगाउन बाध्य भएको उनीहरुको भनाइ छ ।
विश्वविद्यालयका कायममुकायम उपकुलपति प्रा डा शारदा थपलियाले कर्मचारीको मागका सम्बन्धमा विश्वविद्यालय गम्भीर भएको भन्दै वार्ताबाट समस्याको समाधानका लागि पहल भइरहेको बताइन् । विश्वविद्यालयमा ताला लगाएपछि परीक्षासहित पठनपाठन र नियमित प्रशासनिक काम प्रभावित भएको छ । विश्वविद्यालयमा केही महिनायतादेखि उपकुलपति र गत सातादेखि रजिस्टारसमेत रिक्त रहेका छन् ।

तपाईको प्रतिक्रिया