चितवन- राप्ती नगरपालिका ५ मा रहेको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा उमेदवारी दिएका थलराज पाठकले उमेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन माघ २५ गते शनिबार हुँदैछ । नेपाल कम्युनिष्ट पार्टीनिकट मानिने पाठकले नेकपाकै नेताहरुको पहलमा आफ्नो उमेदवारी कायम नरहेको र नेकपाका आधिकारिक उमेदवार डिल्लीप्रसाद थपलियालाई समर्थन गरेको लिखित सहमति दिएका हुन् ।
नेकपा राप्तीका नगर इन्चार्ज इमानसिहं लामाले पाठकले उमेदवारी कायम नरहेको लिखित पत्र दिइसकेको बताए । उनका अनुसार नेकपा पार्टी कमिटी र निर्वाचन कमिटीसमक्ष पाठकले आफ्नो उमेदवारी नरहेको जानकारी गराइसकेका छन् । पाठकले किसान मतदातालाई सम्बोधन गर्दै नेकपाका आधिकारिक उमेदवार डिल्लीप्रसाद थपलियालाई मत प्रदान गर्न अपिल गरिएको पत्रसमेत बुझाएका छन् ।
निर्वाचन समितिका संयोजक शैलेन्द्र भण्डारीले भने उमेदवारहरुले चुनाव चिन्ह लिइसकेपछि उमेदवारी फिर्ता नहुने भए पनि सहमतिमा पछि हट्न सकिने बताए । उनले उमेदवारले अन्य कसैलाई समर्थन गर्न चाहे सहमतिमा आफू पछि हटेर अरुका लागि मत माग्न सकिने बताए ।
पाठकले उमेदवारी फिर्ता लिएसँगै नेकपाका आधिकारिक उमेदवार डिल्लीप्रसाद थपलियालाई सहज हुने भएको छ । नेकपा निकट मानिने पाठकले नेकपा प्यानलको केही मत काट्ने अनुमान गरिएको थियो । तर, उमेदवारी फिर्तासँगै नेकपा एकजुट भएको र जीत सहज रहेको नेकपा राप्ती ४ का अध्यक्ष शमशेर लामाले बताए ।
पाठकको उमेदवारी नरहेसँगै अध्यक्षका लागि थपलिया, विश्वकान्त रुवाली र तीर्थराज पाण्डेको उमेदवारी कायम रहेको छ । रुवाली नेपाली काँग्रेसको समर्थनमा प्यानल नै बनाएर चुनावी मैदानमा छन् भने स्वतन्त्र उम्मेदवार पाण्डे पनि भोट माग्न सक्रिय छन् । यसअघि समेत सहकारीको अध्यक्ष रहिसकेको थपलियाले किसान र उपभोक्ताको हितमा गरेको विभिन्न कामहरुले किसान उनकै पक्षमा रहको उनीहरुको दाबी छ ।
थपलियासँगै नेकपा समर्थित सबै उमेदवारहरुले आफ्नो जीत निश्चित रहेको दाबी गरेका छन् । नेकपा प्यानलबाट अध्यक्षमा डिल्लीप्रसाद थपलिया, उपाध्यक्षमा राजेन्द्रप्रसाद तिमिल्सिना, सचिवमा रामचन्द्र हुमागाईं, सहसचिवमा प्रकाशकुमार सेढाईं, कोषाध्यक्षमा सुवास सिलवालले उमेदवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया