चितवन- चीनमा नोबेल कोरोना भाइरस देखिएपछि चितवनको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमन ह्वात्तै घटेको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक आउने गरेकोमा कोरोना भाइरसको प्रभावका कारण चिनियाँ पर्यटक नआउँदा सौराहा क्षेत्र सुनसान देखिएको हो ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहा पूर्णरुपमा सुरक्षित भएको सन्देश स्वदेश र विदेशमा पु¥याउन जरुरत देखिएको बताएका छन् ।
नेपाल नै कोरोना भाइरसबाट सुरक्षित भएको भन्दै उनले चीनको रोग देखिएका सहरबाट पर्यटक यहाँ नआएकाले यस क्षेत्र पूर्णरूपमा सुरक्षित रहेको जानकारी दिए । उनले भने, “चीनबाट पर्यटक नआउने र अन्यत्रबाट पनि पर्यटक आएनन् भने यहाँको व्यवसाय धराशायी हुन्छ ।”
चीनको भाइरस देखिएका क्षेत्रबाट पर्यटक नेपाल आएका छैनन् । सौराहा क्षेत्रमा पहिले आएका र नेपाल बसोबास गर्दै आएका चिनियाँबाहेकका पर्यटक छैनन् । गत वर्षमा यतिबेला दैनिक ७०० हाराहारी चिनियाँ पर्यटक आउने गर्दथे । यतिबेला चितवनमा फाट्टफुट्टमात्र चिनियाँ पर्यटक रहेका छन् ।
स्वदेशी, भारतीय र युरोपियन गरी दैनिक २५० देखि ४०० पर्यटकले अहिले सौराहा धानेको उनको भनाइ छ । संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले समयमै हामी सुरक्षित छौँ भन्ने सन्देश स्वदेश र विदेशमा प्रवाह गर्न सकेमा चिनियाँ पर्यटक कम भए पनि अन्य पर्यटकले धान्न सक्नेमा आशावादी छन् ।
सौराहा आउने पर्यटकका लागि यो मौसम निकै राम्रो मानिन्छ । वनभित्र बाघ, गैँडाजस्ता जनावरसँगै चराचुरुङ्गी अवलोकनका लागि उपयुक्त समय भएको भन्दै घिमिरेले मौसमका हिसाबले पनि चितवन यतिबेला राम्रो रहेको बताए ।
यहाँ गर्मी पनि छैन र जाडो पनि हट्दै गएको छ । चिनियाँ पर्यटकको बुकिङ रद्द भएका छन् । कोरोना भाइरसको त्रासले अन्य मुलुकका पर्यटकले पनि यहाँको अवस्थाका बारेमा बुझेर मात्र आउने गरेका छन् । कतिपयले भ्रमण रद्दसमेत गर्ने गरेका छन् ।
नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सकेमा विदेशी पर्यटकको भ्रमण तालिका रद्द नहुने र सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
सौराहा आउने विदेशी पर्यटक अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुर विमानस्थलको स्वास्थ्य कक्षमा परीक्षण गरेरमात्र पुग्ने भएकाले सुरक्षित भएकाहरुमात्र पुग्ने गरेका छन् । यससँगै सबै होटलमा उच्च सतर्कता अपनाइएको र कुनै कोरोना भाइरसको लक्ष्यण देखापरेमा तत्काल यहाँको सरकारी भरतपुर अस्पतालसँग समन्वय गरेर उपचार गर्ने व्यवस्थासमेत गरिएको छ ।
सौराहा क्षेत्रमा ६ हजार पर्यटक धान्न सक्ने ११५ होटल रहेका छन् । यतिबेला चाइनिज पर्यटकलाई लक्षित गरी सञ्चालन भएका दर्जन बढी होटल बन्द भइसकेका छन् । पर्यटकहरुले धमाधम बुकिङ रद्द गरेका छन् । सरकारले भ्रमण वर्ष मनाइरहँदा सौराहा सुनसान भएपछि पर्यटन व्यवसायीहरु चिन्तित भएका हुन् ।