चितवन- राप्ती र्‍यापिड्स प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिग सिपिएलको च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पाचौरमा आज शुक्रबार सम्पन्न फाइनल खेलमा सौराहा स्याण्ड्सलाई पराजित गर्दै राप्ती च्याम्पियन बनेको हो ।
सौराहाले दिएको १४० रनको लक्ष्य राप्तीले १७ ओभर ४ बलमा मात्र २ विकेट गुमाउदै पुरा गरे । राप्तीको जीतमा कप्तान आकाश थापाले कप्तानी इनिङ खेले । थापाले पहिलो विकेटका लागि साकार ढकालसँग ७७ रनको साझेदारी गरे । उक्त साझेदारीले नै राप्तीलाई जीततर्फ लगेको हो । आक्रामक ब्याटिङ गरेका थापाले ५७ बलमा ७४ रन बनाए । उनले १० चौका र २ छक्का प्रहार गरे ।
त्यस अघी ओपनर साकार ढकाल २७ बलमा ३२ रन बनाएर पेभिलियन फर्किएका थिए । हरि बहादुर चौहान १८ तथा भिम सार्की ११ रनमा नट आउट रहे । आक्रमक ब्याटिङ गरेका सार्कीले १७ औं ओभरको तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गर्दै उत्कृष्ट फिनिस गरे ।सौराहाका कुनै पनि बलर राप्तीका ब्याट्सम्यान माथि हावी हुन सकेनन् । सौराहाका आकाश चन्द र सुवर्ण थापाले समान ४(४ ओभर बलिङ गर्दै समान १/१ विकेट लिए ।

त्यसअघी टस जितेर पहिलो ब्याटिङ गरेको सौराहाले २० ओभरमा ४ विकेट गुमाउदै १३९ रन बनाएको थियो । खेलमा सौराहाले पनि राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय रित गौतम र राजेश ढकालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे । रित १७ बलमा ४ चौका प्रहार गर्दै १९ रन बनाएर आउट भए ।

राजेशले ४८ बलमा ७ चौका प्रहार गर्दै ५१ रन बनाए । यस्तै प्रशान्त महत ३४ बलमा ३६ तथा आकाश चन्द ८ बलमा ७ रनमा नट आउट रहे । राप्तीका कमल थापाले २ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चिए । खेलको चितवन टाइगर्स म्यान अफदी म्याच राप्तीका कप्तान आकाश थापा घोषित भए । उनले २ हजार प्राप्त गरे ।

बिजेता बनेको राप्तीले २ लाखसहित ट्रफी र मेडल पाएको छ भने उपबिजेता बनेको सौराहाले एक लाखमा चित्त बुझाएको छ ।उता राप्तीका हरि बहादुर चौहान प्लेयर अफ दि सिरिज घोषित भए । उनले १० हजारसहित ट्रफी प्राप्त गरे ।

उनले सिपिएलमा १३१ बलमा १५३ रन बनाएका थिए भने १९ ओभरमा एक मेडन राख्दै ९० रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिएका थिए ।
यस्तै राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजका कृजन गुरुङ उत्कृष्ट बलर घोषित भए । उनले प्रतियोगिताभर १३ ओभर ५ बल बलिङ गर्दै ७६ रन खर्चिएर ९ विकेट लिए । प्रतियोगिता भर ७३ बलमा १३१ रन बनाएका राप्तीका भिम सार्की उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।

यस्तै राप्तीकै कप्तान आकाश थापा उत्कृष्ट अलराउण्डर घोषित भए । उनले प्रतियोगिताभर ९४ बलमा १२२ रन बनाउनुका साथै १९ ओभरमा महत्वपूर्ण ८ विकेट समेत लिए । उनिहरुले जनही ४/४ हजारसहित ट्रफी प्राप्त गरे ।

उनिहरुलाई समापन समारोहका प्रमुख अतिथी बागमती प्रदेशका सांसद बिजय सुवेदी र अतिथी राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं चितवन टाइगर्सक मार्की प्लेयर सोमपाल कामीले पुरस्कार बितरण गरेका थिए ।

प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका ३ जना खेलाडीहरु नेपालकै सबै भन्दा ठुलो व्यवसायिक क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनोट भएका छन् । प्रतियोगिताका उत्कृष्ट अलराउण्डर राप्तीका कप्तान आकाश थापा, उत्कृष्ट बलर भरतपुर गुर्खाजका कृजन गुरुङ र सौराहाका राजेश ढकाल चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनौट भएका हुन् । यस्तै भरतपुर गुर्खाजका कत्पान संघर्ष पौडेल बैकल्पिकमा परेका छन् ।

यसैबीच आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सले राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान राजु खड्कालाई चितवनको क्रिकेट क्षेत्रको बिकासमा र्पुयाएको योगदानको कदर गर्दै सम्मान गरेको छ । उनलाई नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

समापन समारोहमा बोल्दै नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सकोका प्रवन्ध निर्देशक राजु चौधरीले सिपिएलको पहिलो संस्करण सफलता पुर्वक सम्पन्न भएको बताए । आगामी संस्करणलाई अझ व्यवस्थित र परिस्कृत गर्दै लैजाने उनको भनाई थियो ।

माघ १७ गतेबाट शुरु भएको प्रतियोगीतामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती ¥यापिड्स, इच्छाकामना वारीयर्स र माडी टाइगर्स सहभागी थिए । नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजनामा सम्पन्न सिपिएलको सह आयोजकमा चितवन क्रिकेट संघ रहेको थियो ।

प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको थियो भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा।लि।चितवन रहेको थियो । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको थियो ।

तपाईको प्रतिक्रिया