चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा १४औँ फुड फेष्टिवलको रौनक सुरु भएको छ । माघ २८ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने फेष्टिवलको व्यावसायीहरु तयारीमा जुट्दै छन् । फेस्टिवलको तयारी तीव्र पारिएको छ । रेष्टुरेष्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा हुने सो फेष्टिवलको अवसरमा व्यवसायीहरुले पर्यटकका लागि आर्कषक छूटको व्यवस्था मिलाएका छन् ।
पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुरेन्टमा १५ प्रतिशत छूटको व्यवस्था मिलाइएको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । साना पर्यटन व्यवसायमा १५ प्रतिशत छूटको व्यवस्था गरिएको छ । फेष्टिवललाई भव्य बनाउन स्टल तथा मञ्च निर्माणको काम भइरहेको छ । स्वागत गेटलगायत प्रचारप्रसार र अन्य आन्तरिक तयारी तीव्ररुपमा भइरहेको अध्यक्ष खतिवडाले बताए ।
फेष्टिवलमा स्थानीय जातजाति तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, भेषभूषाको प्रदर्शन गरिने फुड फेष्टिवलका संयोजक ध्रुव गिरीले बताए । फेष्टिवलअन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडमकै रमाउने व्यवस्था मिलाइने छ । सडक किनारमै खाने र सडकका सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए ।
फेष्टिवलअन्तर्गत मेयरकप भलिवल प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाहरुको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डोरी तान्ने, अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटकलगायतका कार्यक्रम हुनेछन् ।
प्रेम दिवसको दिन फेष्टिवल प्रवेशका लागि काटिने टिकटबाट संकलन भएको रकममध्ये ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने आयोजकले जनाएको छ । साढे दुई करोडको कारोबार हुने अनुमान गरिएको फुड फेष्टिबलमा २० हजार दर्शकले अवलोकन
गर्ने अनुमान गरिएको संयोजक गिरीले बताए ।
फेष्टिवलको सांस्कृतिक कार्यक्रमअन्तर्गत पशुपति शर्मा, प्रकाश सपूत, सम्झना भण्डारी, दुर्गेश थापा, शान्तीश्री परियार, अलमोडा राना उप्रेती, सम्झना लामिछाने मगर, कमल खत्री, कृष्ण अखेली, दुर्गा सापकोटा, रमेशराज भट्टराई, डिला बिक, रविन लामिछाने, राजन कार्की, अपेक्षा गिरी, जीवन दाहाल, चोलिन्द्र पौडेल, शितल शर्मा, अर्जुन सापकोटा, मनोज महतो, अनु बिक, डिबी लोप्चन, द न्याटिभ व्याण्ड, बलराम सरकारलगायतका कलाकारको प्रस्तुति रहने कलाकार व्यवस्थापन समितिका संयोजक नवीन नेपालले जानकारी दिए ।