चितवन- चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा शुक्रबार अहिलेसम्मकै धेरै आर्थिक सहयोग संकलन भएको छ ।
महायज्ञमा अहिलेसम्मकै धेरै आर्थिक संकलन भएको मूल आयोजक समिति संयोजक विजय सुवेदीले जानकारी दिए । शुक्रबार एकैदिन करिब ९ लाख आर्थिक सहयोग संकलल भएको सुवेदीले जानकारी दिए । शुक्रबारसम्म १५ करोड २० लाख रुपैयाँ सहयोग संकलन भएको उनले जानकारी दिए ।
रंगशाला निर्माणका लागि बाग्मती प्रदेश सरकारले ५ करोड सहयोग घोषणा गरेको छ । धनधान्यान्चल स्थलमै पुगेर बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको तर्फबाट ५ करोड सहयोग घोषणा गरेका हुन् । यस्तै उनले आवश्यक सहयोग र संयोजनका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताए ।
नवलपुरको गैँडाकोट नगरपालिकाले एक करोड रुपैयाँ बराबरको सालको काठ सहयोग गर्ने घोषणा गरेको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले धनधान्याचल स्थलमै पुगेर एक करोड बराबरको सालको काठ सहयोग गर्ने घोषणा गरेका हुन् ।

यस्तै, चितवन मेडिकल कलेजले निर्माणाधीन रंगशालामा ५० लाख बराबरको मेडिकल सेन्टर भवन निर्माण गरिदिने घोषणा गरेको छ । धनधान्याचल महोत्सवस्थलमा पुगेर मेडिकल कलेजका अध्यक्ष एव प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले उक्त घोषणा गरेका हुन् ।

रंगशालामा खेल खेल्न आउने खेलाडी तथा स्थानीय बिरामीलाई लक्षित गरी मेडिकल सेन्टर स्थापना गरिने उनले बताए । यस्तै सीएमसीले रंगशाला निर्माणका लागि नगद १० लाख रुपैयाँ सहयोग पनि गरेको छ ।

शुक्रबार नै भरतपुरका विभिन्न टोल सुधार समितिहरुले ५२ लाख नगद सहयोग गरेका छन् । यस्तै एनपिआई ग्रुपले २१ लाख ११ हजार १११ सहयोग घोषणा तथा नेपाली शैक्षिक महासंघ भरतपुरले १३ लाख ६१ हजार ८ सय १९ नगद सहयोग गरेको छ ।

प्रेस संगठन चितवनका सदस्यसमेत रहेका चलचित्र पत्रकार रवि अधिकारीले रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । अधिकारीले रंगशाला निर्माणका लागि एक लाख ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका हुन् । उनले यसअघि पनि दुई पटक रंगशाला निर्माणका लागि सहयोग गरिसकेका छन् । उनले पहिलोपटक ५ हजार र दोस्रोपटक १७ हजार रुपैयाँ बराबरको स्पिकर सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया