काठमाडौँ- आइसीसी विश्वकप क्रिकेट लिग दुईमा नेपालले पहिलो जित हासिल गरेको छ । घरेलु मैदानमा सिरिजको दोस्रो खेल खेल्दै नेपालले अमेरिकालाई ३५ रनले हराएको हो । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।
अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो । एक सय ९१ रनको विजय लक्ष्य पछ््याउने क्रममा अमेरिकाको पारी ४४ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५५ रनमा समेटियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको शुरुआत राम्रो रहेन । टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आगमन गरेका सुवास खकुरेल तीन रनमै पेभेलियन फर्किए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए ।
खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पेभेलियन फर्किए । खेलको १८औँ मिनेटमा पारस खड्का १९ रन बनाएर आउट भए । खेलको २१औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पेभेलियन फर्किए । नेपालको स्कोर ४९ रनको छँदा पाँच खेलाडी आउट भएका थिए ।
छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते अलराउण्डर कुशल मल्ल र सातौँ नम्बरमा मैदान प्रवेश गरेका विनोद भण्डारीले नेपालको पारी उकासे । कुशलले ५१ बल खेल्दै ५० रन बनाए । यस क्रममा उनले तीन छक्का र चार चौकासमेत प्रहार गरे ।
कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाए । कुशलले १५ वर्ष ३४० दिनको उमेरमा सो कीर्तिमान बनाएका हुन् ।
यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो । रोहितले गत वर्ष युनाइटेड अरब इमिरेटस् (युएई) विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाएका थिए ।
त्यो बेला उनी १६ वर्ष १४६ दिनको थिए । कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोडेका छन् । सचिनले टेस्ट क्रिकेटमा १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए ।
यस्तै विनोद भण्डारीले ५९ रन बनाए । उनले ७९ बल खेल्दै एक छक्का र छ चौका हाने । करन केसीले १२ तथा सुशन भारीले ११ रन बनाए । बलिङतर्फ अमेरिकाका लागि क्यामरोन स्टिभनले तीन तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले दुई दुई विकेट लिए । करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले एक÷एक विकेट लिए ।
ब्याटिङ गर्ने क्रममा अमेरिकाको सुरुआत निकै खराब रह्यो । अमेरिकाले चार ओभरमा चार विकेट गुमाएको थियो । त्यो बेला टोलीको स्कोर १३ रनमात्र थियो । अमेरिकाले ११ ओभरमा २९ रन छँदा पाँचौँ विकेट गुमायो । अमेरिकाका लागि इयान होल्यान्डले अर्धशतकीय पारी खेले । उनले ७५ रनको योगदान दिए । १११ बल खेल्ने क्रममा होल्यान्डले सात चौका प्रहार गरे । यस्तै क्यामरोन स्टिभेन्सनले १९ र करिमा गोरेले १० रन बनाए ।
बलिङतर्फ नेपालका लागि करन केसीले चार विकेट लिए । सुशन भारीले तीन, सन्दीप लामिछाने दुई तथा कुशल मल्लले एक विकेट लिए । करनले सात दशमलव एक ओभरमा एक मेडन राख्दै १५ रन खर्चिए । सुशनले १० ओभरमा एक मेडन राखेर ४३ रन दिए । सन्दीपले १० ओभर बलिङ गर्दै दुई मेडन राखी २७ रन खर्चिए । कुशलले दश ओभरमा एक मेडनसहित ३० रन खर्चिए । करन केसी खेलको म्यान अफ दी म्याच घोषित भए । नेपालले आइतबार तेस्रो खेल ओमानसित खेल्ने छ । रासस

तपाईको प्रतिक्रिया