चितवन- चितवनका क्रसर व्यवसायीहरुले भरतपुरको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १६ टिप्पर गिटी सहयोग गरेका छन् ।
चितवनको भोर्लेमा रहेको महानगर बालुवा उद्योगले नौ टिप्पर र जुगेडीमा रहेको मकवानपुर इन्जिनियरिङले सात टिप्पर गिटी सहयोग गरेका हुन् । नौ टिप्पर गिटी ढुवानी खर्च भरतपुर १६ मा रहेको हाइवे कन्ट्रक्सन र सन्तोषी निर्माण सेवाले व्यवस्था मिलाएका थिए ।
महानगर बालुवा उद्योगका सञ्चालकहरु बलराम खनाल, मोहन दुवाडी, मकवानपुर इन्जिनियरिङका सञ्चालक सुमन थापा, हाइवे कन्ट्रक्सनका सञ्चालक भिष्मराज घले, सन्तोषी निर्माण सेवाका सञ्चालकहरु जीवन कँडेल र तेजेन्द्र कुँवरले धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र महायज्ञ मूल समारोह समितिका संयोजक तथा प्रदेश सांसद् विजय सुवेदीलाई गिटी हस्तान्तरण गरेका थिए ।
त्यसैगरी हाइवे कन्ट्रक्सनका सञ्चालक भिष्मराज घलेले रङ्गशाला निर्माणका लागि रू एक लाख रूपैयाँ सहयोग गरेका छन् । फाउन्डेसनका अध्यक्ष कट्टेललाई सो रकम हस्तान्तरण गर्दै घलेले केही दिनपछि रङ्गशालाका लागि १० टिप्पर गिटी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया