चितवन- चितवनको सुन्दर पर्यटकीय नगरी सौराहामा यही माघ २८ गतेदेखि १४औँ फुड फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा आयोजना हुने सो फेष्टिवलको स्टल, स्वागतगेट निर्माणको काम अन्तिम चरणमा पुगेको र प्रचारप्रसार तथा आन्तरिक तयारीको काम तीव्र रुपमा भइरहेको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।
चितवनको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य एवम् भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउने हेतुले आयोजना गर्न लागिएको फेष्टिवलको बागमती प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको रेवान सौराहाका अध्यक्ष खतिवडाले बताए ।
भ्यालेन्टाइन डे (प्रेम दिवस)को अवसरमा आयोजित फेष्टिवलमा ४० वटा खानाका विशेष परिकारका स्टलहरु रहने खतिवडाले जानकारी दिए ।
फेष्टिवलमा स्थानीय जातजाति तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, भेषभूषाको प्रदर्शन गरिने फुड फेष्टिवलका संयोजक ध्रुव गिरीले बताए ।
फेष्टिवलअन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडमकै रमाउने व्यवस्था मिलाइने भएको छ । सडक किनारमै खाने र सडकमै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए ।
पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुरेन्टमा १५ प्रतिशत छूटको व्यवस्था मिलाइएको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।
फेष्टिवलअन्तर्गत मेयरकप भलिबल प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाहरुको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डारी तान्ने, अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटकलगायतका कार्यक्रम हुनेछन् ।
प्रेम दिवसको दिन फेष्टिवल प्रवेशका लागि काटिने टिकटबाट संकलित रकममध्ये ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने आयोजकले जनाएको छ । झन्डैसाढे दुई करोडको कारोबार हुने अनुमान गरिएको फुड फेष्टिबलमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक गिरीले बताए ।
फेष्टिवलको सांस्कृतिक कार्यक्रमअन्तर्गत पशुपति शर्मा, प्रकाश सपूत, सम्झना भण्डारी, दुर्गेश थापा, शान्तीश्री परियार, अलमोडा राना उप्रेती, सम्झना लामिछाने मगर, कमल खत्री, कृष्ण अखेली, दुर्गा सापकोटा, रमेशराज भट्टराई, डिला विक, रविन लामिछाने, राजन कार्की, अपेक्षा गिरी, जीवन दाहाल, चोलिन्द्र पौडेल, शीतल शर्मा, अर्जुन सापकोटा, मनोज महतो, अनु चौधरी, डिबी लोप्चन, शिवहरि ढुंगाना, मुना अर्याल दी न्याटिभ ब्याण्ड, बलराम सरकारलगायतका विभिन्न जनजातिका मौलिक नृत्य, स्थानीय कलाकार तथा रत्ननगर कलामन्दिरका कलाकारहरुको आकर्षण नृत्य प्रस्तुति रहने कलाकार व्यवस्थापन समितिका संयोजक नवीन नेपालले जानकारी दिए ।