
चितवन- चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पूर्वी चितवनको खैरहनीका नगरवासीहरुले १५ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् ।
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोग समिति खैरहनीको नेतृत्वमा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरु, विभिन्न संघसंस्थालगायतको सक्रियतामा रकम नगरवासीहरुबाट संकलन भएको थियो ।
संकलित १५ लाखमध्ये खैरहनी नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरु तथा कर्मचारीहरुबाट २ लाख ३१ हजार ५०० रुपैयाँ, खैरहनी नगरपालिकाका कर्मचारीहरुबाट १ लाख ५२ हजार ८५५ रुपैयाँ र प्याब्सन खैरहनीबाट १ लाख २१ हजार रुपैयाँ तथा अन्य रकम वडागतरुपमा संकलन भएको खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले बताए ।
टोल विकास संस्थामार्फत सबैको घरमा पुग्न सकिने र सबैको अपनत्व गराउन नगरवासीहरुसँग चन्दास्वरुप रकम संकलन गरिएको उनको भनाइ छ । मेयर चौधरीको संयोजकत्वमा सर्वपक्षीय, सर्वदलीय रुपमा प्रतिनिधित्व रहने गरी समिति बनाइएको थियो ।
नगरभित्रका वडाहरुले टोल विकास संस्थामार्फत घरघरमै पुगेर आर्थिक संकलन गरेका थिए । सबैभन्दा धेरै खैरहनी वडा नम्बर १० बाट १ लाख ९६ हजार ९२७ रुपैयाँ संकलन भएको थियो ।
संकलित रकम धनधान्याचल महोत्सवको अवसर पारेर आइतबार हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरणका लागि खैरहनीकी उपमेयर सुनिता थपलिया, नेकपा नगर अध्यक्ष लक्ष्मी ढकाल, नेपाली कांग्रेस नगर सभापति शशि खनियाँ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्याल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु महायज्ञस्थल पुगेका थिए ।