चितवन- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चल महोत्सवमा आइतबार बेलुकीसम्म ३५ करोड रुपैयाँ संकलन भएको छ ।
चितवनको रामपुरमा निर्माणाधीन रंगशालालाई सहयोग जुटाउन जारी धनधान्यान्चल महोत्सवमा आइतबार ५ करोड उठेको हो । जसमा ३ करोड १२ लाख घोषणा भएको र बाँकी नगद प्राप्त भएको मूल आयोजक समिति संयोजक विजय सुवेदीले जानकारी दिए । योसँगै धनधान्यान्चलमा आइतबारसम्म ३५ करोड संकलन भएको छ ।
यसअघि शनिबारसम्म कुल ३० करोड संकलन भएको थियो । आठौँ दिन आज एक दाताले व्यक्तिगत रुपमा सबैभन्दा धेरै दान गरेका छन् । भरतपुर १० निवासी गोल्डमाइण्ड बिजनेस ग्रुपका अध्यक्ष बामदेव गौलीले रंगशाला निर्माणका लागि एक करोडबराबरको जग्गादान गरेको मूल आयोजक समितिका सहकोषाध्यक्ष नवराज सापकोटाले जानकारी दिए ।
गौलीले चितवनको भरतपुर ११ जखडीमाईंमा रहेको ८२ लाखबराबरको १८ धुर र रत्ननगरको शान्तिकुञ्जमा रहेको ४० लाखबराबरको १४ धुर जग्गादान गरेका हुन् । जग्गादान गर्दै उनले समाजले सहयोगको पाठ सिकाएअनुरुप नै आफूले रंगशाला निर्माण अभियानमा होस्टेमा हैसे गर्ने प्रयास गरेको बताए ।
चितवनमा रंगशाला निर्माण अभियान सफल बनाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गरेको उनको भनाइ थियो । उनले अन्य राष्ट्रहरुमा पचासौँ वर्षअगाडि बनिसकेको रंगशाला नेपालमा भने भर्खरै बन्न लागेको भन्दै सबैलाई सहयोगका लागि अपिल गरे । यस्तै उनले रंगशाला निर्माण सम्पन्न नहुँदासम्म आफू र आफ्नो परिवारको तर्फबाट सक्दो सहयोग गरिरहने प्रतिबद्दता व्यक्त गरे ।
यस्तै, आजै विजय ग्रुपले पनि धनधान्यान्चलमार्फत रंगशालालाई जग्गादान गरेको छ । भरतपुर महानगरपालिका २१ को उक्त ग्रुपले १२ लाख ६८ हजार बराबरको १२ धुर जग्गादान गरेको हो । ग्रुपले भरतपुर २७ मा रहेको उक्त जग्गादान गरेको हो ।
चितवनको कालिका नगरपालिकाले १५ लाख ५५ हजार ५५५ रुपैँया सहयोग घोषणा गरेको छ । नगरपालिकाका प्रमुख मेयर खुमनारायण श्रेष्ठले उक्त रकम घोषणा गरे । उता नेपाल अण्डा उत्पादक संघले १० लाख ११ हजार एक सय ११ तथा एपोलो पेन्ट्स भरतपुरले ७ लाख ५० हजार सहयोग घोषणा गरेको छ ।
आइतबार राप्ती नगरपालिका ३ का सुरेन्द्र पाठकले १५ लाख भरतपुर महानगरपालिका २८ को वडा कार्यालयले १० लाख ८६ हजार ३ सय ९०, गोर्खाका रामगोपाल श्रेष्ठले ८ लाख, भरतपुर ११ का सागर श्रेष्ठले ६ लाख १६ हजार ६ सय ६६, भरतपुर २१ का बिजयबहादुर घलेले ६ लाख, लिटल फ्लावर स्कुल नारायणगढले ५ लाख ११ हजार एक सय ११, बोस्टन कलेज भरतपुरले ५ लाख, प्रेमकुमार र गोमादेवी श्रेष्ठले ५ लाख एक हजार एक सय ११, काठमाडौंकी शितलचन्द्र ढकालले ५ लाख ११ हजार एक सय ११, सोही स्थानका कृष्ण आचार्यले ५ लाख सहयोग गरेका छन्।
सोमबार समापन गरिँदै
गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चल महोत्सवको सोमबार समापन गरिनेछ । धनधान्यान्चलको राजकीय बौद्धबिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्तेले समापन गर्ने मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए ।
धनधान्यान्चलको हिन्दू र बौद्ध संस्कृतिअनुसार समापन गरिने उनले बताए । चुकेका अनुसार सोमबार दिउँसो २ बजेसम्म धनधान्यान्चल चल्ने र त्यसपछि समापन गरिनेछ । समापनको दिन सोमबार धनधान्यान्चलका प्रमुख दाता तथा धनधान्यान्चल सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिने उनले जानकारी दिए । धनधान्यान्चल १९ गतेबाट सुरु भई २६ गते समापन गरिने भनिएता पनि आज एक दिन थप गरिएको हो ।
रंगशालालाई आर्थिक सहयोग जुटाउन जारी धनधान्यान्चल महोत्सवमा पण्डित दीनबन्धु पोखरेल प्रमुख वाचकको रुपमा रहेका छन् । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।