चितवन- पूर्वसांसद एवं समाजसेवी मैयादेवी श्रेष्ठ अस्वस्थ भएकी छन् । छाती दुख्ने, निन्द्रा नलाग्ने हुँदै स्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई माघ २४ गतेबाट चितवन मेडिकल कलेजमा भर्ना गरेर उपचार थालिएको छ ।

श्रेष्ठको हेरचाह गर्दै आएका छोरा टङ्कनाथ पौडेलका अनुसार श्रेष्ठलाई समस्या देखिएपछि अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने र डा शीतल अधिकारीको निगरानीमा उपचार सुरु गरिएको छ ।

उनी अस्वस्थ भएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु प्रकाशमान सिंह, गगनकुमार थापालगायतले भेट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

९१ वर्षीया श्रेष्ठ गोर्खा क्षेत्र नम्बर २ बाट विसं २०४८ मा निर्वाचित भएकी थिइन् । त्यसपछि उनी राष्ट्रियसभा सदस्यमा मनोनीतसमेत भएकी थिइन् ।

काँग्रेसको केन्द्रीय कार्यालय, चितवनस्थित जिल्ला कार्यालय, भरतपुर महानगरपालिका–१ को कार्यालयसँगै मैयादेवी कन्या कलेज, नेपाल प्रेस युनियन चितवन, ओम शान्तिलगायतका संघसंस्थालाई उनले जग्गा दान गरेकी छन् ।

छोरा पौडेलका अनुसार श्रेष्ठले दान गरेको सम्पत्तिको अहिलेको मूल्य रु एक अर्ब हाराहारी हुन आउँछ ।

तपाईको प्रतिक्रिया