चीन- चीनको वुहान सहरमा गत डिसेम्बरको मध्यतिर देखा परेको नोबेल कोरोना भाइरसले सोमबारसम्म कम्तीमा ९१० जनाको ज्यान लिइसकेको छ । मृत्यु हुनेमा दुई जनामात्र चीनबाहिरका छन् । नौ सय आठ जनाको चीनमा नै मृत्यु भएको छ ।
हिजो आइतबारमात्रै चीनमा नोबेल कोरोना भाइरसबाट ९७ जनाको मृत्यु भएको छ । चीनमा नयाँ सङ्क्रमण हुने व्यक्तिहरूको सङ्ख्या भने स्थिर भएको देखिएको छ । चीनका विभिन्न स्थानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या ४० हजार नाघेको छ भने एक लाख ८७ हजारभन्दा बढी मानिसलाई चिकित्सकीय निगरानीमा राखिएको छ ।
गत डिसेम्बर महिनादेखि फैलिएको नयाँ भाइरसको प्रकोपबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनले विशेषज्ञहरूको टोली बेइजिङ पठाएको छ । चीनको सरकारी तथ्याङ्कका अनुसार ३ हजार २८१ जनालाई सफल उपचारपछि अस्पतालबाट घर फर्काइएको छ ।
चीनमा आजदेखि लाखौँ मानिसहरू लामो बिदापछि काममा फर्किएका छन् । तर सावधानीका उपायहरू यथावत् छन् । काम गर्ने समयका बीचमा विश्रामको व्यवस्था गरिएको छ तथा छानिएका कार्यस्थल मात्र खुलेका छन् । गत सप्ताहान्तमा कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्याले सन् २००३ मा फैलिएको सार्स महामारीले ज्यान लिएका मानिसको सङ्ख्यालाई उछिनेको थियो ।
उक्त भाइरसबाट सङ्क्रमित मानिस नेपालसहित २७ देशमा भेटिएको पुष्टि भएको छ । चीनबाहिर न्यूनतम ४४० मा यो भाइरसको संक्रमण भएको छ तर अहिलेसम्म फिलिपिन्समा एक जना र हङ्‍कङमा एक जनाको मात्र मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले उक्त भाइरसका कारण जनस्वास्थ्यमा सङ्कट उत्पन्न भएको घोषणा गरिसकेको छ ।

६ महिनाभित्रमा खोप तयार गर्ने आशा

अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरु चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन्।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ, र चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। भाइरसबाट ४० हजारभन्दा बढी मानिस सङ्क्रमित छन् । तीन दर्जन अन्य देशमा कोरोना प्रभावित व्यक्ति भेटिएका छन् ।

कुनै पनि खोप बनाउन सामान्यतया वर्षौं लाग्छ । पशुहरुमा परीक्षणको लामो प्रक्रियाका साथै मानवमा परीक्षण र नियामक स्वीकृति आवश्यक हुन्छ । तर विशेषज्ञहरुका धेरै टोलीहरु द्रुत प्रक्रियाबाट खोप निर्माण गर्ने दौडमा जुटेका छन्, जसलाई अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको समर्थन प्रान्त हुने विश्वास छ । अष्ट्रेलियाली वैज्ञानिकहरु ६ महिनाभित्रमा कोरोना भाइरसको खोप तयार गर्ने आशामा छन् ।

कोरोनाबारे अफवाह नफैलाउन चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन चेतावनी दिएको छ । उपचारमा संलग्न डाक्टरहरुको तस्बिरलाई लिएर ट्रोल बनाउने, कोरोनाको उत्पति र असरबारे भ्रम फैलाउने, संक्रमण र मृत्युबारे अनर्गल प्रचार गर्नेलगायतका क्रियाकलाप बढेपछि डब्लुएचओको यस्तो प्रतिक्रिया आएको हो ।
डब्लुएचओका महानिर्देशक डाक्टर टेड्रोस अडानोम गेबेरियससले ट्रोल र षडयन्त्रले कारण कोरोना भाइरसविरुद्ध लडिरहेकाहरुलाई कमजोर बनाउने भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् । एजेन्सीहरुको सहयोगमा । #AFP via Getty Images

तपाईको प्रतिक्रिया