नुवाकोट- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकासका लागि नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारी रणनीतिमा जानुपर्ने बताएका छन् ।
विदुर नगरपालिका–७ तुप्चेमा आयोजित पोष्टबहादुर बोगटीको सालिक अनावरण तथा चण्डेश्वरी माविको ६१औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त भनाइ राखेका हुन् ।
“रेलमार्ग, हवाइमार्ग वा सडक मार्ग जे बनाए पनि नेपालको आर्थिक ‘कनेक्टिभिटी’का लागि त्रिदेशीय साझेदारीको खाँचो छ”, उनले भने, “केरुङ नाका यता रहेकाले त्रिदेशीय कनेक्टभिटीबाट नुवाकोटले बढी लाभ लिन सक्छ ।”
उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा लुम्बिनी–ल्हासा रेलमार्गको कुरा चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग कुरा राखेको बताउँदै भने, “अहिले रेलमार्गको कुरा धेरै अघि बढिसकेको छ । रेलसँगै केरुङ–ठोरी राजमार्गका विषयमा कुरा अघि बढिरहेको छ ।”
उनले नुवाकोटमा विकास पूर्वाधारको काम धेरै अघि बढिरहेको र आगामी दिनमा त्यसले अझै गति लिने विश्वास व्यक्त गरे ।
चण्डेश्वर माविको परिसरमा विद्यालयले निर्माण गरेको आफ्ना सहकर्मी नेता पोष्टबहादुर बोगटीको सालिक अनावरणमा निकै भावुक देखिएका उनले बोगटीको अभाव पार्टीलाई खड्किरहेको र त्योभन्दा बढी आफूलाई अभाव खड्किएको बताए ।
कार्यक्रममा ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनापिच्छे प्रसारण लाइन निर्माण गर्दा देशका धेरै स्थानमा तार माकुराको जालो जस्तो भएकाले अबदेखि एउटा क्षेत्रमा उत्पादित बिजुलीलाई एउटै प्रसारण लाइनबाट लैजाने रणनीति अवलम्बन गरिरहेको बताए ।
उनले चालू आर्थिक वर्षमा एक हजार मेगाबाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने, पाँच वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन हुने बताए ।

तपाईको प्रतिक्रिया