चितवन- रत्ननगर ७ मा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले आम्दानीअनुसार सामाजिक विकास कार्यक्रममा खर्च गर्दै आएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा आम्दानी गरेको ३ करोड ८ लाखमध्ये डेढ करोडभन्दा बढी रकम सामाजिक विकास कार्यक्रममा खर्च गरिएको वनका अध्यक्ष जीतबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार गत वर्ष १ करोड ६२ लाख रुपैयाँ सामुदायिक विकास कार्यक्रममा खर्च भएको छ । कुल आम्दानीमध्ये ५४ लाख ८४ हजार रुपैयाँ वन व्यवस्थापन, पर्यापर्यटन प्रवद्र्धन कार्यक्रममा ३४ लाख २१ हजार रुपैयाँ खर्च गरेको अध्यक्ष तामाङले बताए ।
गत वर्ष सो वनले डुंगा संचालनबाट १ करोड ४० लाख ९१ हजार, हात्ती प्रवेशवापत ८७ लाख ११ हजार, सरसफाइ शुल्कबाट ११ लाख २९ हजार, संरक्षण शुल्कबाट ५२ लाख ७९ हजार, मचानको आम्दानीबाट १ लाख ६४ हजारलगायतबाट ३ करोड ८ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको वनका अध्यक्ष तामाङले बताए ।
वनका सचिव कृष्ण भट्टले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आशमान लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वागमती प्रदेश सांसद कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, नेकपा रत्ननगरका अध्यक्ष केपी लामिछाने, नेपाली काग्रेश नगर सभापति रुपनराज घिमिरे, रत्ननगर ७ का वडाध्यक्ष राजन भट्ट, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष वासु ढुंगाना, युनाईटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, वनका उपाध्यक्ष सीताराम महतोलगायतले मन्तव्य राखेका थिए । सोही अवसरमा वन सेवा क्षेत्रभित्र रहेका विभिन्न विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत, उत्कृष्ट कर्मचारी सन्तकुमार चौधरी, युनाईटेड हात्ती संचालन सहकारी संस्था, संरक्षणकर्मीहरु शंकर चौधरी, रुक्मिणी रिमाललाई सम्मान गर्नुका साथै घरवारविहीन अवस्थामा रहेका भुखला महतोलाई घर निर्माण गरेर हस्तान्तरणसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया