चितवन- सौराहाकै सामीप्यतामा रहेको चित्रसेन मध्यवर्ती सामुदायिक वन भित्र निर्माण काठे मचान निर्माण गरिएको छ । आम्दानी बढाउन वनको आमसोती डाँडामा करिब ३५ लाख रुपैयाँ खर्च गरेर मचान निर्माण गरिएको वनका अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिए ।
१५ जना अट्ने क्षमता भएको मचानमा ५ वटा एटेज कोठा रहेका छन् । एक कोठामा ३ जना सुत्न मिल्छ । प्रतिकोठा ४ हजार रुपैयाँ पर्यटकले शुल्क तिर्नुपर्ने छ । मचानमा प्याकिङ खानेकुरा मात्रै लैजान पाउने अध्यक्ष श्रेष्ठले बताए । बत्ती बल्ने, पंखा चल्ने, पानीको मोटर चलाउन सक्ने सोलार जडान गरिएको वनका कार्यालय सचिव कृष्ण आचार्यले बताए ।
मचानको सोमबार एक कार्यक्रमबीच पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरे । सो अवसरमा पूर्वअर्थमन्त्री पाण्डेले प्रतिष्ठित र धनाढ्य व्यक्तिहरुलाई यहाँ ल्याएर राख्न सके प्रचारप्रसार हुने र चहलपहल बढ्ने विश्वास व्यक्त गरे ।
मचानको उद्घाटनसँगै त्यहाँ रात बिताउने पहिलो पाहुना पूर्वअर्थमन्त्री पाण्डे नै बनेका छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले सौराहापछि दोश्रो पहिचान मचान बन्ने बताए । उद्घाटन कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष वासु ढुंगाना, वनका सचिव रिता थापा, सदस्य शिवप्रसाद आचार्यले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया