-अजित अधिकारी
चितवन- माडीमा पछिल्लो समय विभिन्न धार्मिक क्षेत्रहरुमा पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । विशेषगरी माडीका विभिन्न धार्मिक स्थलहरु सोमेश्वरगढी, पाँच पाण्डव, गोदक, छरछरे, बिक्रम बाबा, वाल्मीकि आश्रम, परशुराम कुण्ड, शनि तथा कालिका मन्दिर, बैकुण्ठेश्वरधाम, रेवा तथा त्रिवेणीधामलगायतका धार्मिक क्षेत्रहरुमा पर्यटकहरुको घुइँचो र चाप बढ्न थालेको छ । माडीमा रहेका धार्मिक क्षेत्रहरुको महत्त्व र आवश्यकताले पछिल्लो समय माडीको भविश्य नै उज्यालोमय बन्न सक्ने देखिएको छ । परापूर्वकालदेखि माडी क्षेत्रमा निर्माणमा रहेका विभिन्न प्राचीन सभ्यता एवम् कलाकौशलबाट निर्मित कलाकृतिहरुले समेत माडीको महत्त्व र आवश्यकतालार्ई निकट समयमा झनै बढाएर लैजान सक्ने सम्भावना देखिन्छ । माडीका अधिकांश मानिसहरु कृषि पेशामा निर्भर रहेका छन् । माडी चारैतिर जङ्गलले घेरिएको बीचमा समथर भूभागका रुपमा फैलिएर रहेको छ । माडी कृषि पेशाका लागिसमेत उर्बर भूमी र परिचित क्षेत्रका रुपमा माडीलाइ लिने गरिन्छ । माडीको धार्मिक ऐतिहासिक स्थलहरुको महत्त्व र आवश्यकताका सन्दर्भमा माडीको पहिचान बुझ्न र बुझाउनको लागि सोमबार सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लिमिटेड भरतपुर १ नारायणगढको टोली माडी प्रस्थान गरी फर्किएको छ ।
माडीको चर्चित धार्मिक क्षेत्र सोमेश्वरगढीको स्थलगत अध्ययन एबम अवलोकनको लागि उक्त टोली माडी आएको हो । माडीमा रहेका सुनचाँदी व्यसायी संघहरुको टोलीले सोमबार एक कार्यक्रमबीच माडी नगरपालिकाको कार्यालयमा उक्त टोलीलाई भव्य स्वागत गरिएको थियो । स्वागतका क्रममा माडी नगरपालिकाकी नगर उपप्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँबर, माडी नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रवीन भण्डारी, माडी पर्यटन बिकास समितिका अध्यक्ष एवम् वडा नं ३ का वडाध्यक्ष पुरन महतोलगायतको विशिष्ट व्यक्तित्वहरुको टोलीले सोमबार सो संस्थाको टोलीलाई स्वागत एवम् सम्मान गरिएको थियो ।
विशेषगरी माडी क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि हुनुका साथै माडी क्षेत्रमा रहेका हेर्नलायक दृश्यहरुको समेत अवलोकन गर्नको लागि विभिन्न क्षेत्रहरूवाट मानिसहरु आउने गरेका छन् । त्यस्तै माडीको चर्चित धार्मिक क्षेत्रहरुमध्य गोदक जसको स्नान गर्नाले मनमा शान्ति छाउने, घरपरिवारमा सुख र माधुर्यता छाउने जनविश्वास रहेको छ । त्यस्तै बिक्रम बाबाको दर्शन गर्नाले मनमा शान्ति एवम् सन्तान नभएकालाई सन्तान प्राप्त हुनेजस्ता धार्मिक जनविश्वास रहँदै आएका छन । त्यस्तै, माडी- ७, देवेन्द्रपुरमा रहेको दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिरको दर्शन गर्नाले ग्रहगोचर शान्ति हुने, अधूरा कामहरु बन्नेजस्ता जनविश्वास रहँदै आएको छ । त्यस्तै दिवानगरमा रहेको रेवा तथा त्रिवेणी धामको दर्शन गर्नाले रोगव्याधीहरु सबै निको हुनेजस्ता जनविश्वास रहिआएको छ । माडी धार्मिक, ऐतिहासिकस्थललगायतका थुप्रै संरचनाहरुले अग्रस्थानमा रहेको क्षेत्र हो । नेपालका सयौँ गन्तव्य नगरीमध्ये पर्न सफल चितवनकै चर्चित धार्मिक क्षेत्र सोमेश्वरगढी, ज्ञानको भूमि रहेको र वाल्मीकि ऋषिमुनिहरुले ज्ञान हासिल गरेको क्षेत्रको रुपमा लिइन्छ ।
चारैतिर सुन्दर र स्वच्छ हावापानी मनोरम दृश्यहरुले जोकोहीलाई पनि मनमोहक बनाउने गर्दछ । त्यस क्षेत्र नजिकै नेपाल भारतको सिमाना रहेको छ । परापूर्वकालदेखि रहेको ढुङ्गाबाट बनाइएको डुङ्गासमेत रहेको छ । सोमेश्वर कालिकाको मन्दिरसमेत रहेको छ । पूर्वकालमा बनाइएको बोका बलि दिनको लागि हवन कुण्ड पनि रहेको छ । विभिन्न पुरातात्त्विक संरचनाहरु र प्राकृतिक दृश्यहरुले माडी क्षेत्रको पर्यटकिय विकासको लागि अझ धेरै टेवा पुग्न सक्ने देखिन्छ ।