
काठमाडौँ- सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । नियुक्तिसँगै उनी नेपाल प्रहरीको २७औँ महानिरीक्षक बनेका छन् ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी)का रुपमा रहेका ज्ञवाली प्रदेश नं १ का प्रहरी प्रमुखका रुपमा काम गर्दै आएका थिए । उनको कार्यकाल मात्र पाँच महिनाको हुनेछ ।
हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबारदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास लिने भएकाले सरकारले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको हो ।
तीनै जना प्रहरी अतिरिक्त महानिरीक्षकले समेत मंगलबारै अनिवार्य अवकाश लिन लागेकाले सरकारले उनलाई डिआइजीबाट सोझै प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । ज्ञवाली विसं २०७५ असोजमा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका थिए ।
खनालको मंगलबार एक कार्यक्रमबीच प्रहरी प्रधान कार्यालयबाट बिदाइ भएको छ । बुधबार नवनियुक्त आइजीपी ज्ञवालीलाई स्वागत गर्ने कार्यक्रम राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी नियमावली २०७२ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नभएको खण्डमा डिआइजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सकिने प्रावधान छ । नियमावलीमा प्रहरी नायब महानिरीक्षकमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सार्मथ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सकिने उल्लेख छ । सोही आधारमा सरकारले उनलाई नियुक्त गरेको हो ।
यसपटक मंगलबार रातिदेखि लागू हुनेगरी प्रहरी महानिरीक्षक खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको अनिवार्य अवकाश हुँदैछ । उनीहरूसँगै १८ प्रहरी नायब महानिरीक्षक (डिआइजी)सहित २२ जनाको अवकाश हुने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
अवकाश पाउन लागेका डिआइजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति रहेका छन् ।
नवनियुक्त ज्ञवाली २०४७ साल असार २५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । उनको सेवा अवधि आगामी असारसम्म छ । हालका प्रहरी महानिरीक्षक खनाल २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेकै समयमा उनको नाम वैकल्पिक उम्मेदवारका रूपमा निस्किएको थियो । त्यसकारण उनी पाँच महिना ढिला गरी नियुक्त भएका थिए ।