चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबारदेखि १४औं सौराहा फुड फेष्टिवल सुरु भएको छ । रेष्टुरेष्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाको आयोजनामा भएको फेष्टिवलको उद्घाटन गर्दै बागमती प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए । उनले पर्यटन आर्थिक विकासको मेरुदण्ड रहेकोले पर्यटनको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्ने उल्लेख गरे ।
मन्त्री नेपालले बागमती प्रदेशले पर्यटन विकासलाई प्राथमिकता दिएको बताउँदै पर्यटन प्रर्वद्धनका कार्यक्रमहरु गर्दै जाने बताए ।
कार्यक्रममा प्रदेशसभा सांसद् कृष्णप्रसाद खनालले भ्रमण वर्ष घोषणामा मात्र सीमित हुन नहुने भन्दै भ्रमण वर्ष सफल बनाउन सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी सबैको उत्तिकै जिम्मेवारी रहेको बताए ।
रत्ननगरका मेयर नारायण वनले भ्रमण वर्ष सफल बनाउन केन्द्र र प्रदेश सरकारले ठोस कदम चाल्न नसकेको गुनासो गर्दै पर्यटन प्रर्वद्धनका कार्यक्रम ल्याउन आग्रह गरे ।
कार्यक्रममा रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारी, रेवान सौराहाका पूर्वअध्यक्ष तथा वडाध्यक्ष राजन भट्ट, रेवान महिला समूहकी अध्यक्ष माला दाहाल, क्षेत्रीय होटल संघका सौराहाका अध्यक्ष दीपक भट्टराई, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरीलगायतले शुभकामना व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी, रत्ननगरकी उपमेयर विमला दुवाडी, नेकपाका नगर अध्यक्ष कुलप्रसाद भुसाल, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले खाना र संस्कृतिको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले फेष्टिवलको आयोजना गरिएको बताए । उनले सडकमै खाऔँ सडकमै रमाऔँ भन्ने उद्देश्यले हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडमकै रमाउने व्यवस्था मिलाइएको बताए ।
कार्यक्रम उद्घाटनपूर्व ९० वटा संघसंस्था तथा समूहहरु सहभागी शोभायात्रा निकालिएको थियो । शोभायात्रामा उत्कृष्ट प्रर्दशन गर्ने समूहलाई उद्घाटन कार्यक्रममा पुरस्कृतसमेत गरिएको थियो ।
पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रेम दिवसको अवसर पारेर आयोजित सो फेष्टिवलमा स्वदेशी तथा विदेशी र परम्परागत खानाका ४० वटा स्टल रहेको संयोजक ध्रुव गिरीले जानकारी दिए । फेष्टिवलमा स्थानीय जातजाति तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, भेषभूषाको प्रदर्शन गरिने फुड फेष्टिवलका संयोजक गिरीले बताए । फेष्टिवलअन्तर्गत मेयरकप भलिबल, प्रेमपत्र लेखन, वेटर रेस, महिलाहरुको म्युजिकल चेयर, बालबालिकाको लागि बेलुन फुटाइ, डारी तान्ने, अन्तरविद्यालय नृत्य, सडक नाटकलगायतका कार्यक्रम हुनेछन् । प्रेम दिवसको दिन फेष्टिवल प्रवेशका लागि काटिने टिकटबाट संकलन भएको रकममध्ये ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने छ । साढे दुई करोडको कारोबार हुने अनुमान गरिएको फेष्टिवलमा सांस्कृतिक कार्यक्रमअन्तर्गत लोकप्रिय गायक पशुपति शर्मा, प्रकाश सपूत, सम्झना भण्डारी, दुर्गेश थापा, शान्तिश्री परियार, अलमोडा राना उप्रेती, सम्झना लामिछाने मगर, कमल खत्री, कृष्ण अखेली, दुर्गा सापकोटा, रमेशराज भट्टराई, डिला बिक, रविन लामिछाने, राजन कार्की, अपेक्षा गिरी, जीवन दाहाल, चोलिन्द्र पौडेल, शीतल शर्मा, अर्जुन सापकोटा, मनोज महतो, अनु चौधरी, डिबी लोप्चन, द न्याटिभ ब्याण्ड, बलराम सरकारलगायतका कलाकारको प्रस्तुति रहने कलाकार व्यवस्थापन समितिका संयोजक नवीन नेपालले नेपालीको आवाजलाई जानकारी दिए ।