सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा माघ २३ गतेदेखि १५० भन्दा बढीमा भाइरल सङ्क्रमण भएपछि सिंगो गाउँ नै त्रासमा छ । गाउँभरि नै रुघाखोकी र उच्च ज्वरोका बिरामी बढेपछि कोरोना भाइरस हो कि भन्ने त्रास बढेको थियो ।
बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र बाग्मती प्रदेश सरकारलाई पत्र लेखेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले अध्ययन गर्दा कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार सो गाउँमा चीनबाट कोही कसैको आवतजावत नभएकाले कोरोना भाइरसको सङ्क्रमण नभएको बताएका हुन् ।

उनले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको बताए । सो क्षेत्रमा हाल देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार सुरु गरिएको छ । बिरामीमध्ये केहीलाई निकोसमेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाईंले बताए ।
साथै, त्यहाँको भाइरल सङ्क्रमणबारे जाँच गर्न आफूहरुले टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यसतर्फ पठाउने जानकारी गराएको बताए ।
यसैबीच सो स्थान गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घन्टा पैदल दूरीमा छ । अहिले जलबिरेबाट चिकित्सकको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ त्यहाँ पुगेका छन् ।
गाउँमा १५० मा रुघाखोकी र ज्वरो देखिएको तथा १० को उपचार भएको छ भने एकको अवस्था गम्भीर रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँमा भाइरल सङ्क्रमण भएपछि कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचारसमेत गरको छ । सो स्थानमा विगत तीन दिनदेखि बिरामीको सङ्ख्या बढेको हो ।
दुईजना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, मास्क र पञ्जा लिएर गुम्बा पुगिएको उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिए । बुधबार बिहानसम्म २०१ ले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन् । उनीहरुमध्ये १५० मा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको अध्यक्ष श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया