भक्तपुर- भक्तपुरजिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन् ।
गेटमा प्रहरी तैनाथ छन् । प्राधिकरणको गेटअगाडि अचेल दैनिक स्थानीय बासिन्दाले सरकारविरुद्ध नाराबाजी गर्ने गरेका छन् । कोही नारा लगाइरहेका देखिन्छन्, महिला र ज्येष्ठ नागरिकको मुहारमा निकै चिन्ता र त्रास देखिन्छ । बस्तीको बीचमा रहेको प्राधिकरणमा सरकारले चीनबाट फर्काउन लागेका १८५ नेपालीलाई राख्ने क्वारेन्टाइन बनाएपछि यस क्षेत्रमा दैनिक देखिएका दृश्य हुन् यी ।
आज खरिपाटीको गेटमा उभिएका स्थानीय ५६ वर्षीय राजाराम कार्कीले निकै चिन्ता व्यक्त गर्दै भने, “हामी यही ठाउँमा बस्छौँ, चीनबाट सरकारले फर्काउन लागेका नेपालीलाई यहीँ राख्ने भएछ, यहाँ रोग फैलियो भने त हामी सबै सिधिन्छौँ, सरकारले हाम्रो सुरक्षाको बेवास्ता किन गरेको होला ?” उनीमात्रै होइन, यतिखेर सिङ्गो जिल्लाका बासिन्दामा बढेको त्रास र चिन्ता हटाउन सम्बन्धित निकायले खासै पहल गरेको छैन ।
सरकारले चीनबाट कोरोना भाइरस सङ्क्रमति भएका नेपालीलाई होइन, स्वस्थ्य नेपाली नागरिकलाई ल्याउने हो र उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर परीक्षणमात्रै गर्ने हो भनेरसम्म पनि स्थानीय जनतालाई बुझाउन सकेको छैन ।
“स्थानीय बासिन्दालाई भाइरस सङ्क्रमति होइन, स्वस्थ्य नागरिक ल्याएर परीक्षणमा राख्ने मात्रै हो भन्ने कुराको जनचेतना मात्रै दिन सकेको भए पनि यति धेरै त्रास र आक्रोश हुने थिएन, स्थानीयवासीको विरोधका बाबजुद प्रहरी तैनाथ गरेर जबर्जस्ती क्वारेन्टाइन बनाएपछि त्रास र आक्रोश बढेको हो”, चाँगुनारायण नगरपालिकाकी महिला जनप्रतिनिधि कमला गिरीले भने ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले घना बस्ती, पर्यटकीय क्षेत्रलाई बेवास्ता गरेर क्वारेन्टाइन बनाउन यो ठाउँको छनोट गर्नु गलत भएको बताए । नगर प्रमुख सोमप्रसाद मिश्रले स्थानीय सरकारसँग कुनै समन्वय नै नगरी हस्तक्षेप गरेर क्वारेन्टाइन राख्न खोज्नु गलत भएको बताए।
क्वारेन्टाइन निर्माण पूरा
सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेका नेपालीलाई राख्नका लागि खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणका चार भवनमा क्वारेन्टाइन निर्माण कार्य पूरा गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग, होस्टेल भवन, क्यान्टिन नजीकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टरमा क्वारेन्टाइन बनाइएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए ।
चीनको कोरोना भाइरस सङ्क्रमित वुहानबाट आगामी फागुन ३ गते उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न चार ब्लकमा १९९ श्यया तयार पारिएको छ । नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमान चालक दलका सदस्य गरी ८५ लाई तालिम दिइएको र चीनबाट स्वदेश फर्किन चाहने १८५ नेपालीलाई एकैपटक नेपाल ल्याएर विमानस्थलमा स्वास्थ्य जाँच गरी सीधै खरिपाटीमा बनाएको क्वारेन्टाइनमा १४ दिन राखेर स्वस्थ्य भएमात्रै घर पठाइने भएको हो ।
जहाजका पाइलटलगायतका टोलीलाई चाँगुनारायण–६ नगरकोटको खानेपानी तालिम केन्द्रमा राख्ने तयारी गरिएको छ । विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिने छ भने सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १४७ आइसोलेसन वार्ड तयार पारेको छ ।