चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा १४औँ सौराहा फुड फेस्टिवलअन्तर्गत बुधबार विद्यालयस्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
रेवान सौराहाले आयोजना गरेको प्रतियोगितामा सिद्धि विनायक आमावि खोलेसिमल प्रथम, प्यारागन मावि रत्ननगर द्वितीय, हिमालयन आमावि रत्ननगर तृतीय र स्काइराइडर आमाविले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई जनही २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजक सुजन भट्टले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा र संयोजक ध्रुव गिरीले विजयी टिमलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा रेवान अध्यक्ष खतिवडाले संस्कृति संरक्षणको लागि विद्यालयस्तरीय समूहगत नृत्य प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा सामुदायिक र संस्थागत गरी नौवटा विद्यालयको सहभागिता रहेको थियो । चितवनको पर्यटन विकासको लागि सौराहामा हरेक वर्ष फेस्टिवल हुँदै आएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले सो फेस्टिवल आयोजना गरिएको हो । फेस्टिवल चलिरहँदा सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

कोरोना भाइरसका चिनियाँ पर्यटकको आगमन घटेपछि केही दिनदेखि सुस्ताएको सौराहाको पर्यटनमा फेस्टिवलले उर्जा प्रदान गरेको रेवान सौराहाका निर्वतमान अध्यक्ष गोकर्ण गिरीले बताए ।

सडकमै खाने र सडकमै संगीतमय वातावरणमा रमाउन देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक सौराहामा रमाइरहेका छन् ।

तपाईको प्रतिक्रिया