चितवन- सेवा प्रवाहमा उल्लेख्य काम गरेको भन्दै चितवनको माडी नगरपालिकालाई प्रदेश सरकारले सम्मान गरेको छ । बुधबार बाग्मती प्रदेश सरकारको दोस्रो वार्षिकोत्सवको अवसरमा नगरपालिकालाई सम्मान नगदसहित सम्मान गरिएको हो ।
वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेलले नगरप्रमुख ढकाललाई सम्मानपत्र प्रदान गरे । ढकाल नगरप्रमुख भएको वैशाखमा तीन वर्ष पुग्दैछ ।

नगरपालिकाले कृषि,पर्यटन,शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको ढकालले बताए । कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईंले मुलुकमा सुशासन स्थापनाका लागि प्रमुख दल एकजुट हुनुपर्ने बताए ।

उनले भने, “मुलुकको विकास र समृद्धिका लागि भ्रष्टाचार न्यूनीकरण र सुशासन स्थापनाका लागि प्रमुख दलहरुले आपसी मनमुटाव त्यागेर एकजुट हुनुपर्छ ।”

प्रमुख प्रसाईंले जनचाहनाअनुरुप विकास निर्माणको कार्यलाई आगाडि बढाउन प्रदेश सरकारले सबै पक्षसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

यस्तै, मुख्यमन्त्री डोरमणि पौडेलले कम्तीमा एउटा सामुदायिक विद्यालयमा एक जना हुने गरी प्रदेशका ११९ स्थानीय तहमा एक एकजना विद्यालय नर्सको व्यवस्था गरिएको उल्लेख गर्दै कृषि, पर्यटन, उद्योग विस्तारलगायत पशुपालन क्षेत्रलाई उच्च प्राथमिकताको साथ प्रदेशको १३ जिल्लामा ‘मुख्यमन्त्री नमूना कार्यक्रम’ सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनले विकासको पूर्वाधार सडक निर्माणमात्रै नभई प्रदेशको कृषि, उद्योग, वन, पर्यटन, स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत् र सञ्चार क्षेत्रको विकास पनि भएकाले प्रदेश सरकारले यसलाई गम्भीरताका साथ कार्यान्वयन ल्याएको बताए ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाले विभिन्न ५१ वटा विधेयक पारित गरिएको र तीमध्ये ४८ वटा प्रमाणीकरण भएको उल्लेख गर्दै प्रदेशमा शान्तिसुरक्षा, सुशासन र आर्थिक समृद्धिका लागि एकीकृत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशभित्रका सीमित स्रोतसाधनलाई सदुपयोग गरी राष्ट्रिय गौरवको आयोजना, सडक सञ्जाल, कृषि, भूमि सुधारलगायत विभिन्न योजनालाई यसै चालु आवभित्र कार्यान्वयन गर्नेतर्फ अग्रसर रहेको बताए ।

तपाईको प्रतिक्रिया