
चितवन- दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्यले चितवनका विभिन्न क्षेत्रका व्यवसायीहरुले ट्राफिक कार्यालय चितवनलाई गोप्रो क्यामरा, मोटरसाइकल ल्यापटपलगायतका उपकरण सामग्री सहयोग गरेका छन् ।
ट्राफिक कार्यालय चितवन र दुर्घटना न्यूनीकरण महाअभियान कार्यसमिति चितवनले गरेको कार्यक्रममा सो सहयोग सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नारायणी मोटर्सका प्रबन्ध निर्देशक बालगोपाल चुकेद्वारा १२५ सीसीको दुई थान बजाज मोटरसाइकल चितवन अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्ष ईश्वर श्रेष्ठले एक थान ल्यापटप र पोजेक्टर प्रहरीलाई हस्तान्तरण गरेका छन् । सडक दुर्घटना न्यूनीकरण अभियानलाई सघाउ पु¥याउन सो उपकरण सहयोग गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
त्यस्तै चितवन निर्माण सेवा संघका अध्यक्ष कुलबहादुर राई र निर्माण व्यवसायी जिल्ला समन्वय समिति चितवनका अध्यक्ष विष्णु महर्जनले संयुक्तरुपमा दुई थान गोप्रो क्यामरा सहयोग गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश ट्राफिक रामनगरका प्रमुख प्रकाश रानाभाटले ट्राफिक प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । उनले विकासोन्मुख देशमा आवश्यकताअनुसार ट्राफिक परिचालन गर्न नसके पनि भएको जनशक्तिलाई प्रविधिसँग जोडेर परिचालन गर्नु आवश्यक भएको बताए ।
उनले नेपालमा दैनिक औसत आठ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाउने गरेको र १८ देखि ३० जना घाइते हुने गरेको दृष्टान्त पेस गर्दै सडक दुर्घटना चुनौती र संवेदनशील विषय भएको औँल्याए ।
उनले भौतिक स्रोतसाधन र आधुनिक उपकरणहरुको प्रयोगबिना शान्ति सुरक्षा सम्भावना नभएको बताउँदै समग्र बाग्मती प्रदेश ट्राफिक कार्यालयले आधुनिक उपकरणद्वारा सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना बनाएर अगाडि बढिरहेको बताए । जनशक्ति विस्तारभन्दा प्रविधिको विस्तार अझै महत्वपूर्ण रहेको बताउँदै बागमती प्रदेशलाई आवश्यक पर्ने १२ वटा राडर गन, ६ वटा ड्रोन क्यामरालगायतका आवश्यकीय प्रविधि सरोकारवाला निकायसँग माग गरिरहेको बताए ।
कार्यक्रममा चितवन ट्राफिक प्रमुख दयाकृष्ण भट्टले बढ्दो सवारी चापसँगै यहाँको सुरक्षा चुनौती पनि थपिँदै गएको बताउँदै नेपालकै केन्द्रबिन्दुमा रहेको चितवनमा सुरक्षा संवेदनशीलता चुनौतीपूर्ण रहेकाले को उनको विचार थियो । सुरक्षा संवेदनशिलतासँगै ट्राफिक जनशक्तिको अभाव र सुरक्षा संयन्त्रसँग सम्बन्धित पूर्वाधारको कमी रहेको अवस्थामा यस्ता सहयोगले केही हदसम्म सहयोग पुग्ने विचार व्यक्त गरे ।