काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख दलहरूबीच सहमति हुन नसक्दा सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सात्तो जाने गरी उजुरी परेको बताएका छन् ।
जनक्रान्तिका घाइते तथा अपाङ्ग संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले सत्य निरूपणमा अनावश्यक उजुरी परेको बताएका हुन् ।
‘सत्य निरूपण आयोगमा सात्तो जाने गरी झन्डै ६६ हजार उजुरी परेका छन्,’ उनले भने, ‘दलहरूबीच कुरा नमिल्दा त्यति धेरै उजुरी परेका हुन्, खासमा २(३ हजारभन्दा बढी उजुरी नै आवश्यक थिएन ।’ उनले आयोगका पूर्वपदाधिकारीहरूलाई उद्धृत गर्दै २ हजारसम्मका उजुरी आउनुपर्नेमा बढी उजुरी आएको बताए ।
दलहरूबीच सहमति हुन नसक्दा तत्कालीन नेपाली कांग्रेसका विरुद्धमा माओवादीले, माओवादीको विरुद्धमा कांग्रेसले र तत्कालीन नेकपा एमालेले कतै कांग्रेसका विरुद्धमा त कतै माओवादीको विरुद्धमा उजुरी दिने प्रतिस्पर्धा गर्दा उक्त सङ्ख्या बढेको उनको दाबी छ।
तर, अहिले नेकपा र कांग्रेसलगायतका बीचमा सहमति भएकाले समस्या नहुने उनले बताए । ‘अहिले नेकपा र कांग्रेसका बीचमा द्वन्द्वकालीन मुद्दालाई लिएर सहमति भएको छ,’ अध्यक्ष दाहालले भने, ‘मिलेरै कानुन बनाउँदैछौँ, मिलेर नेतृत्त्व चयन गरेका छौँ । एउटै निर्णयबाट धेरै काम गर्न सक्छौँ ।’
उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनका लागि दलहरूबीच सहमति भएकाले समस्या नहुने बताए ।