अजित अधिकारी
चितवन- माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले बिहीबार नेपालीको आवाज डटकमसँग यही फागुन ७ गते प्रजातन्त्र दिवसको दिनदेखि जनताको पक्षमा रहेर अनसन बस्ने बताएका छन् ।
उनले चितवन राष्ट्रिय निकुञ्जका कारण माडीवासी जनताले भोग्नु परेको पीडा र समस्याले आफू झनै मर्माहत भएको बताए । चितवन राष्ट्रिय निकुञ्जका कारण माडीवासीहरुले अनाहकमा ज्यान गुमाउनु परेको घटनालाई स्मरण गर्दै नगर प्रमुख ढकालले गहिरो चिन्ता व्यक्त गरेका हुन् ।
तपाईं यसअघि पनि माडीवासी जनताको पक्षमा रहेर अनसन बस्छु भन्नु भएको थियो तर अनशन बस्नु भएन नि ? भन्ने नेपाली आवाजले गरेको कुराकानीमा उनले अनशन बस्ने भनेर उद्घोष गरेको तर त्यतिखेर अनशन फिर्ता लिएको होइन स्थगितमात्र गरेको बताए ।
उनले भने, ‘अब मेरो अनसन फिर्ता पनि हुँदैन, स्थगित पनि हुँदैन । यही फागुन ७ गते प्रजातन्त्र दिवसकै दिनदेखि निरन्तर मेरो अनसन जारी रहने छ ।’
तपाईंको माग पूरा भएन भने अनशन निरन्तर जारी रहन्छ वा फेरि स्थगित हुन्छ ? भन्ने प्रश्नमा नगर प्रमुख ढकालले आफ्नो अनशनको कार्यक्रम कसैले रोक्न नसक्ने र आफू निरन्तर जनताको पक्षमा रहेर अनशन बस्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले विसं २०२९ को वन ऐन जनपक्षीय एवम् जनमैत्री नभएसम्म र वन्यजन्तु र मानवबीचको द्वन्द्व समाधान नभएसम्म आफ्नो अनशन निरन्तर जारी रहने बताए । उनले आफ्नो अनशनको कार्यक्रममा विभिन्न मागहरु बुँदागत रुपमा रहेको बताए ।
अनशनका मागहरु
१) कसरादेखि वनकट्टासम्मको बाटोलाई सुविधा प्राप्त बाटो घोषणा गरी २४सै घन्टा आवतजावतको कानुनी व्यवस्था हुनुपर्ने ।
२) विसं २०२६ सालको नापीको आधारमा कायम गरिएको आवादी क्षेत्र र वन क्षेत्रलाई नै राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र निर्धारण गरी पक्की पिल्लर राखिनुपर्ने ।
३) राष्ट्रिय निकुञ्ज संरक्षित क्षेत्र मध्यवर्ती वन क्षेत्रका जंगली जनावार (हात्ती, गैँडा, चित्तल, बदेल) आदिले क्षति पुर्याएमा क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने ।
४) मध्यवर्ती क्षेत्रभित्र रहेका ऐलानी जग्गा वा नदी उकास क्षेत्रको संरक्षण र संवर्द्धन स्थानीय तहले गर्नेछ, भन्ने हुनुपर्ने ।
५) राष्ट्रिय निकुञ्ज सामुदायिक वनबाहेकका मध्यवर्ती वनमा ढलापडा र नदी तथा खोलाको तटबन्धको व्यवस्था हुनुपर्ने ।
६) रिउ करिडोरको निर्माण हुनुपर्ने ।
७) नदीजन्य पदार्थ र प्रारम्भिक वातावरणीय प्रभावको मूल्यांकन गरी स्थानीय तहले प्रदेश सरकारको नियमानुसार राजस्व असुल गरी प्रयोग र ठेक्कापट्टा गर्ने अधिकार स्थानीय तहलाई हुनुपर्ने ।
मेयर ढकालले माथि उल्लेखित मागहरुसहित अनशन बस्न लागेका हुन् । आफ्नो अनसनको माग सरकारले सम्बोधन गर्न नसकेमा झनै अनशन सशक्त बनाएर लैजाने र आफूलाई अनशनमा माडीवासी जनताले पूर्णरुपमा साथ दिने र आफ्नो माग पूरा नभएको अवस्थासम्म अनशन निरन्तर जारी रहने उनले बताए ।
अनशनका क्रममा आफ्नो स्वास्थ्यमा समस्या आए पनि माग सम्बोधन नभएसम्म अनशन नरोकिने र आफू माडीवासी जनताको लागि बरु मर्न तयार रहेको र अनशन नरोक्ने जिकिर गर्दै मेयर ढकालले माग सम्बोधन नभएमा अन्तिमसम्म जनताको साथमा अनशन बस्ने जनाएका छन् । ‘अनसन बस्दा बस्दै मरेँ भने मलामी आउनुहोला’, उनले भनेका छन् ।