![](https://www.nepalikoaawaj.com/wp-content/uploads/2020/02/Kerung.jpg)
रसुवा- कोरोना भाइरस सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको सङ्क्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत पुस १५ गतेदेखि १५ दिनका लागि बन्द गरिएको थियो । केरूङको आवतजावत सात दिनका लागि पुनः बन्द राख्न चिनियाँ अधिकारीलाई आग्रह गरिएको हो ।
रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका कारण सात दिनका लागि पुनः आवतजावत रोक्न रसुवा प्रशासनका तर्फबाट केरूङका अधिकारीलाई आग्रह गरिसकिएको बताइएको छ ।
चीनमा फैलिएको कोरोना भाइरसको लक्षण सीमा क्षेत्रमा हालसम्म देखा नपरेको र उक्त रोग नभित्रियोस् भन्ने उद्देश्यले केरूङ आवतजावत नगराउन आग्रह गरी सीमा क्षेत्रको टिमुरे क्षेत्रमा रोग नियन्त्रणसम्बन्धी स्वास्थ्यको चेतनामूलक कार्यक्रमसमेत सम्पन्न गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रसुवागढी नाकामा रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले हालसम्म कुनै पनि कदम नचालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।